काठमाडौं, २५ वैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवि भण्डारीको चर्को आलोचना गरेका छन्।
संवैधानिक राष्ट्रपतिबारे सार्वजनिक टिप्पणी नगर्ने देउवा सरकारको नीति तथा कार्यक्रमको विषयलाई लिएर राष्ट्रपति भण्डारीको व्यक्तिगत आलोचनामा उत्रेका हुन्। राष्ट्रपतिसँगै उनले सभामुख कृष्णबहादुर महराको पनि आलोचना गरे।
पार्टीको पहिलो चरणको एक महिने जागरण अभियानको काठमाडौँमा शुभारम्भ गर्दै देउवा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पनि राष्ट्रपति भण्डारी र सभामुख महरापति आक्रोशित भएका हुन्।
वैशाख २० गते सरकारको तर्फबाट राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेको विषयलाई देउवाले फेरि उठाएका हुन्। उनले राष्ट्रपतिप्रति कटाक्ष गर्दै भने, ‘अस्ति मेरो सरकार भनिन्। अहिले यिनलाई बेलायती महारानी जस्तो किन बन्नुर्पयो? शासन व्यवस्था थाहा छैन कि क्या हो?’
देउवाले अघिल्लोपटक नीति कार्यक्रम प्रस्तुत गर्दा र अघिल्ला राष्ट्रपति रामवरण यादवले ‘मेरो सरकार’ नभनेको समेत उल्लेख गरे।
‘रामवरणले नीति कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेका थिएनन्, उनले पनि अघिल्लो पटक मेरो सरकार भनेकी थिइनन्,’ देउवाले आक्रोशित हुँदै भने, ‘पहिला राजाको पालामा हिज म्याजेस्टी गभर्मेन्ट भनेजस्तै अहिले हर म्याजेस्टी विद्या भण्डारी गभर्मेन्ट भन्नुपर्ने?’
देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी बेलायती महारानीभन्दा बढ्ता भएको आरोप लगाए। देउवाले भने, ‘बेलायती महारानी भन्दा बढ्ता भइन्। गैर संसदीय भाषा प्रयोग गर्ने, सभामुखले आफ्नो भूमिका निर्वाह नगर्ने अवस्था आयो।’ कम्यनुष्टिले जिते यस्तो अवस्था आउँछ भनेर आफूले चुनावकै बेला भनेको अहिले सत्य सावित भएको उनले उल्लेख गरे।
त्यस्तै देउवाले सभामुख कृष्णबहादुर महरा इतिहासकै डरपोक र काँतर सभामुख भएको आरोपसमेत लगाए। ‘नेपाली राजनीतिको इतिहासमा मैले यति डरपोक र काँतर सभामुख देखेकै छैन। हामीले गैर संसदीय अभ्यास भयो भन्दा उनी सरकारकै पक्षमा लागिरहे।’
मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजी र अवरोधका बीच पनि सभामुख महराले संसद चलाएर नीति तथा कायक्रम पारित गरेपछि देउवा उनीविरुद्ध खनिएका हुन्। ‘संसदीय परम्परामा संसद भनेको प्रतिपक्षी र सत्ता भनेको सरकारको हुन्छ तर, यहाँ त उल्टो भयो,’ देउवा भने ।



लाेकपाटी न्यूज

