दश वर्षमा पाँच पार्टी चहार्दै पूर्वसभासद नेकपामा प्रवेश

Party parbesh
लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। तत्कालीन नयाँ शक्ति पार्टी नेपालकी नेतृ सीमाकुमारी बिक नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छिन्।

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको एकता भएको दुई दिनमै बिक नेकपामा प्रवेश गरेकी हुन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलको उपस्थितिमा नेकपाको मुख्यालयमा भएको एक कार्यक्रममा उनले नेकपा प्रवेश गरेकी हुन्।

पूर्व सांसदसमेत रहेकी बिक नेकपाले नागरिकको हितमा राम्रा काम गर्दै गएकाले आफूले यो पार्टी रोजेको बताइन्। सीमा विक राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्वाचित सांसद हुन्। पार्टी अध्यक्ष शिवलाल थापा विजयकुमार गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेपछि सांसद बिक २०७४ साल वैशाखमा नयाँ शक्तिमा प्रवेश गरेकी थिइन्। उनले नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यका रुपमा रहेर काम गरेकी थिइन्।

यसअघि तत्कालीन माओवादीबाट पूर्व सभासदसमेत रहेकी कल्पना धमला तथा नेताहरु रामरिझन यादव, देवेन्द्र पराजुली, मदन राईलगायत पनि नेकपा प्रवेश गर्ने हल्ला चलेको थियो।