विप्लवका पोलिटब्यूरो सदस्य राई निलम्बित

Padam bahadur rai
लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदमबहादुर राई निलम्बित भएका छन्। विप्लव नेकपाले पोलिटब्यूरो सदस्य राईलाई निलम्बन गरेको हो।

तत्कालीन माओवादीमा विकास उपनामले परिचित पूर्वआवास तथा भौतिक योजना राज्यमन्त्री राईलाई पार्टीको नीतिविपरित बोलेको भन्दै निलम्वन गरिएको हो। विप्लवको नेकपानिकट स्रोतका अनुसार केही दिनअघि सरकारसँग वार्ता प्रक्रिया अघि बढिरहेको अभिव्यक्ति दिएपछि राईलाई निलम्वन गरिएको हो।

उनको यो अभिव्यक्तिपछि राईलाई भूगोलका सबै जिम्मेवारीबाट हटाएर राखिएको छ। शान्तिप्रक्रियापछि राई पहिलो संविधानसभामा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। नेता राई यसअघि माओवादीनिकट किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्षसमेत भइसकेका छन्।

माओवादीबाट बाहिरिने क्रममा राईको नेतृत्वमा भोजपुर, खोटाङ र संखुवासभाबाट ठुलो समूह उनीसँगै विप्लवतर्फ लागेको थियो। गत वर्ष भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा भोजपुरबाट चुनाव लडेका शेरधन राईमाथि बम हमला गरेको आरोप उनीमाथि लागेको थियो।

हाल प्रदेश १ का मुख्यमन्त्री रहेका शेरधनमाथि बम हमलाको आरोपमा नेता राई र उनका भाइ निकासलाई पनि प्रहरीले पक्राउ गरेको थियो। नेता राईलाई पक्राउ गरेर मुद्दा चलाइएपछि ६० हजार धरौटी बुझाएर मोरङबाट रिहा भएका थिए।