काठमाडौं, २५ वैशाख। संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरुले असन्तुष्टि जनाएका छन्।
असन्तुष्ट समूहले बुधबार भेला गरेका छन्, जहाँ पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए। भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन्।
उनीहरुले नेतृत्वलाई वैकल्पिक राजनीति भविष्य केही हुन्छ ? भन्ने प्रश्न समेत गरेका छन्। स्रोतका अनुसार असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी छ।
नेकपाले बुधबार अपराह्न नै प्रचण्डको उपस्थितिमा ‘विशेष कार्यक्रम’ राखेको छ। स्रोतका अनुसार पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी छ । त्यसलाई स्वीकार गर्दै नेकपाका एक नेता भन्छन्, ‘साथीहरुसँग कुराकानी भइरहेको छ। एउटा सहमति गरेर स्वागत गर्छौं।’
सोमबार वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै डा। बाबुराम भटराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको एकीकरण भएको थियो।



लाेकपाटी न्यूज

