बेइजिङ, २५ वैशाख। चीनियाँ राष्ट्रपति सी चिनफिङले व्यापार वार्ताकारहरूलाई अमेरिकासँग नझुक्न आग्रह गरेका छन्। व्यापार वार्ताकारहरूले अलि वार्ताको नरम प्रस्ताव सीसमक्ष पेस गरेका थिए।
तर, सीले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै व्यापार वार्ता असफल भए अमेरिकाले बढाउने करपछिको सम्भावित आर्थिक परिणामको जिम्मा आफूले लिने बताएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले ट्रम्पको घोषणा पछि चीन पछि हट्छ भन्ने कुरा अमेरिकाले नसोचे पनि हुने टिप्पणी प्रकाशित गरेको छ। ‘राष्ट्रपति सी र उनको प्रशासन अडिग छ, चुनौतीको सामना गर्नबाट पछि हट्ने कुनै संकेत देखाएको छैन,’ राजनीतिक विश्लेषक चेन दाओयिनले भने,‘सीको चीनलाई बलियो राष्ट्र बनाउने सपनाले पनि उनका सहकर्मीहरूको बाहिरी विषय सुल्झाउन चाहिने क्षमता र लचकतालाई सीमित पारेको छ।
उनले पछिल्लो दुई महिनामा चीनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोले व्यापार युद्धलाई प्राथमिकता दिएर छलफल नगरेकाले राष्ट्रपति सी पछि हट्ने पक्षमा नरहेको देखिने बताए। ‘भर्खरै भएको पोलिटब्युरो बैठकले गत फेब्रअरीमा जस्तो आर्थिक स्थिरतालाई केन्द्रमा राखेर छलफल गरेन। यसले के देखाउँछ भने अमेरिकी करले चिनियाँ अर्थतन्त्रलाई तहनहस पार्न सक्दैन भन्ने उनीहरूको बुझाइ छ,’ चेनले भने।
चीनले आगामी अक्टोबरमा जनगणतन्त्रको ७० औँ वर्षगाँठ मनाउँदै छ। एसिया, अफ्रिका र युरोपलाई जल र जमिनले जोड्न बेल्ट एन्ड रोड परियोजना ल्याएका सीले यो वर्ष चीनको हार भएको सन्देश जाने कुनै किसिमका सम्झौता गर्न चाहँदैनन्। त्यसैले उनले वार्ताकारलाई नझुक्न भनेका हुन्।
यसअघि वार्ताका क्रममा चीनले सरकार नियन्त्रित उद्योग व्यवसायमा दिने अनुदान घटाएर खुला बजार बनाउने, बौद्धिक सम्पत्तिको संरक्षण र अमेरिकाबाट आयात गर्ने सामानको मात्रा बढाउनेमा सहमति गरेको थियो। तर यी सहमतिलाई कसरी लागु गर्ने भन्ने कुरामा दुई देशबीच सहमति हुन सकेको छैन।



लाेकपाटी न्यूज

