लोकल कुखुरामा पनि फैलियो बर्डफ्लु

लाेकपाटी न्यूज

नवलपरासी, २५ वैशाख। नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ।
नन्दपुरका पिताम्बर महतोको घरमा बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारीले बताए।

महतोको घर र उनको घर नजिक रहेका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली नष्ट गरिएको छ। पंक्षी र पंक्षीजन्य वस्तुलाई खाडल खनेर पुरिएको डा. तिवारीले बताए।

पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने कार्यमा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकै पशुपंक्षी विकास निर्देशनालय, पोखराको पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला, मध्यविन्दु नगरपालिकाको पशु सेवा शाखाका डाक्टर तथा प्राविधिकहरुको टोली खटिएको थियो।

महतोको घरका कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पंक्षी ल्याबमा लगेका थिए । त्यहाँ बर्डफ्लु भएको पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो। नमूना परीक्षण गर्न काठमाडौंस्थित ल्याबमा पनि पठाइएको छ।

बर्ड फ्लु भेटिएका आसपासका क्षेत्रमा बर्डफ्लु भए नभएको पत्ता लगाउनका लागि निजका अन्य घर तथा गाउँबाट जिउँदा कुखुरा तथा हाँसहरुको नमुना संकलन गरि परीक्षणका लागि पठाएको डा. तिवारीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्