कांग्रेसको जागरण अभियान उद्घाटन

Nepali_congress
लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बुधबारबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ।
सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामार्फ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न बुधबारबाट जागरण अभियान सुरु गरिएको जानकारी दिए।अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ। बुधबारबाट सुरु हुने पहिलो चरणको अभियान १ महिना चल्नेछ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ।

दोस्रोमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रोमा चरणमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ। जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ। सम्पादन गर्नुपर्ने कामबारे जिम्मेवारीपत्र दिएर कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्ला पठाएको हा ।

कार्यक्रमलाई सफल पार्न कांग्रेसले भातृसंगठनहरुलाई पनि जिल्लामा परिचालन गरेको जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, देशभर एउटै मोडलमा जागरण अभियान कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रम उद्घाटन पनि कांग्रेसले नयाँ तरिकाले गर्दैछ।

समी र बर–पिपलमध्ये १ विरुवा रोपेर कार्यक्रम उदघाटन गर्न सबै जिल्लामा कांग्रेसले सर्कुलर गरेको छ। अभियानमा ३ वक्ताले आफ्नो धारणा राख्नेछन्। सबै कार्यक्रममा महिला वक्ता अनिवार्य गरिएको कांग्रेसले जनाएको छ।काठमाडौंको हकमा मध्याह्न १२ः३० मा जागरण अभियानको उद्घाटन हुँदैछ। जसको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन्।