‘प्रधानमन्त्री भ्रमणको विरोध गर्नु पूर्वाग्रही’ : हिरण्यलाल श्रेष्ठ

Hiranyalal
लाेकपाटी न्यूज

काठमाडाैं, २४ वैशाख। पूर्व राजदुत हिरण्यलाल श्रेष्ठले भियतनाम र कम्बोडिया दुवै देशसँग नेपालको पूरानो र प्राचिन सम्बन्ध भएकोले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी र सफल हुने विश्वास दिलाए।

वैशाखी–डेमा प्रधानमन्त्रीले मुख्य वक्ताको रुपमा बोल्ने कार्यक्रम रहेकोले उक्त सम्मेलनमार्फत ग्लोवल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रर्वद्धन गर्न पनि ‘माईल–स्टोन’ हुने श्रेष्ठको दाबी छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले सांस्कृतिक उपलब्धि हाँसिल गर्न पनि भ्रमण फलदायी हुने विश्वास दिलाए। भियतनाम र कम्बोडियाका पर्यटकहरु नेपाल भित्र्याउनको लागि भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

श्रेष्ठले विश्व बुद्धिष्ट पर्यटनमा पनि प्रधानमन्त्री ओलीको भ्रमणले नयाँ आयाम थप्ने स्पष्ट पारे। भियतनामले वाटरवेज र रेलवेजमा पनि धेरै ठूलो विकास गरेको उनले सुनाए। प्रधानमन्त्रीको यो भ्रमणले दुवै मुलुकसँग नयाँ–नयाँ सम्भावनाको द्धार खोल्नेपनि उनको दाबी छ।

प्रधानमन्त्रीको भ्रमणको विरोध गर्नु पूर्वाग्रही भएको पनि उनले आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्रीको भ्रमण दुवै देशको हितमा छ। विरोध गर्नु गलत हो।’

यद्धपी प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले जनतालाई सुस्पष्टसँग यसको महत्वको बारेमा नभनेकोमा उनले गुनासो पोखे। उनले भने, ‘सरकारले भ्रमणको औचित्यको बारेमा जनतालाई स्पष्टसँग भन्नुपर्दथ्यो । त्यसमा कमि देखियो।’