चीनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

DonaldTrump
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने थप २ सय अर्ब डलरका सामानमा पनि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

चीनसँगको जारी व्यापार वार्ता चलिरहेको र चीनले ‘रिनेगोसियट’ गर्न खोजेको भन्दै ट्रम्पले आगामी शुक्रबारदेखि ती सामानमा लाग्ने कर १० प्रतिशतबाट बढेर २५ प्रतिशत पुग्ने बताएका हुन्।

यसअघि सन् २०१९ को सुरूदेखि नै उक्त कर लगाउने बताएका ट्रम्पले व्यापार वार्ता सकारात्मक दिशातिर गएको भन्दै मिति पर सारेका थिए। पछिल्लो समय चीन आफ्ना पहिलाका सहमतिबाट पछि हटेको अमेरिकाले आरोप लगाएको छ।

अमेरिका र चीनबीच वौद्धिक सम्पत्तिको चोरी र प्रविधि हस्तान्तरणका विषयमा सहमति हुन सकेको छैन। गत जुनमा ट्रम्पले पहिलो पटक ३४ अर्ब डलरबराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीन र अमेरिकाबीच व्यापार युद्ध सुरू भएको थियो।

पछि अमेरिकाले उक्त शुल्क ५० अर्ब डलर बराबरका सामानमा लगायो। लगत्तै चीनले पनि ५० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा २५ प्रतिशत शुल्क थप्यो। सेप्टेम्बर २४ देखि थप २ सय अर्ब डलरका चिनियाँ सामानमा अमेरिकाले १० प्रतिशत शुल्क लगाएको थियो।

अहिले चीनबाट ५३९.५ अर्ब डलरको सामान अमेरिका जान्छ। ट्रम्पले बाँकी ३ सय २५ अर्ब डलरका चीनियाँ सामानमा पनि छिटै कर लगाउने चेतावनी दिएका छन्। चिनियाँ सामानमाथिको करका कारण अमेरिकी अर्थतन्त्रमा सुधार भएको ट्रम्पको दाबी छ। अमेरिकाले लगाएको करका कारण ती सामानको उत्पादन खर्च नगन्य रूपमा बढेको उनको भनाई छ।

दुबै देशका अधिकारीहरूले बिहीबारसम्म चीनियाँ अधिकारीहरू अर्को चरणको वार्ताका लागि वासिङट्न पुग्ने जनाएका छन्। व्यापार वार्तामा चीनियाँ पक्षलाई दबाब दिन ट्रम्पले नयाँ घोषणा गरेको कतिपयको विश्लेषण छ।