समाजवाद र समृद्धिका लागि सबै कुरा त्याग्न तयार छु : प्रचण्ड

Prachanda-10
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि आवश्यक परे सबै चिज त्यागेर गौतम बुद्धजस्तै बन्न सक्ने बताएका छन्।

पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले मैले अब देशका लागि, जनताका लागि र समृद्विका लागि जरुरी पर्‍यो भने गौतमबुद्धको बाटोमा हिँड्न सक्ने बताएका हुन्।

‘बाँकी जीवन अब समृद्वि र देशमा शान्ति सुदृढ गर्नका निम्ति तयार छु,’ उनले भने, ‘हिजो मैले जंगल जान्छु भनेको फेरि लडाईं र हिंसाको लागि जान्छु भनेको होइन। भन्न खोजेको के भने देशको लागि र जनताको लागि जरुरी पर्‍यो भने म सबै कुरा त्यागेर जंगल जान तयार छु।’

अध्यक्ष प्रचण्डले भने, ‘फेरि पनि त्याग गर्न मलाई केही चाहिएको छैन। सम्पत्ति चाहिएको छैन, घरगाडी चाहिएको छैन। म फेरि पनि दुःख गर्न सक्छु। यो कुरालाई त्यही रुपमा बुझियोस्।’ हिजो पनि निकै ठूलो त्याग गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘त्याग त त्याग नै हो। त्यागका पनि धेरै खाले रुप हुन्छन्। त्यसैले म आवश्यक परे अब देशका लागि जनताको लागि समृद्विको लागि जंगल जान तयार छु।’

‘२१ औं शताब्दीमा म एउटा सानो किसानको छोरा हुँ। नेपालमै जन्मिएको। तर मलाई नियतिले भन्नुस् या कर्मले, मैले युद्वको पनि नेतृत्व गर्ने अवसर पाएँ। नेपालमा ठूलो राजनीतिमा परिवर्तन ल्याउने। जनताको हितमा जनताको पक्षमा भनेर लड्ने पनि जिम्मेवारी मलाई आयो’, प्रचण्डले भने, ‘लुम्बिनीमा एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा जाँदा मैले के स्मरण गरे भने कि बुद्धको दर्शनलाई–शिक्षाहरुलाई सबैभन्दा राम्रोसँग स्थापित र प्रचार कसले गर्यो भन्दाखेरि अशोक सम्राटले।’

प्रचण्डले थपे, ‘लुम्बिनीमा अशोकको स्तम्भ छ। सम्राट अशोक। अशोकले लुम्बिनीमा आएर बुद्ध जन्मेको ठाउँ यहीँ हो। धेरैले त्यहीँबाट बुद्धको शिक्षा पाए भनेर अशोकले अशोक स्तम्भ ठड्याएपछि हामीलाई इतिहासको अध्ययन गर्न, बुद्धको बारेमा जानकारी प्राप्त गर्न, शान्तिको महत्व बारे बुझ्न र अहिसांबारे बुझ्न मद्दत गर्‍यो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्