ओलीले मोदीकै नक्कल गरे : रामहरि खतिवडा

ramhari khatiwada
लाेकपाटी न्यूज

कठमाडौं, २३ वैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुक यतिवेला अप्ठ्यारोमा रहेको सुनाउँदै पानीजहाज, रेल र सुनको कुरा सुन्दा निन्द्रा नै नलाग्ने अवस्था भैसकेको भन्दै व्यंग्य गरेका छन्।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै भने, ‘विगतका कार्यक्रमहरुमा श्री ५ को सरकार लेखिने तथा राजाले मेरो सरकार भन्ने चलन थियो। तर, अहिले नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेर सम्बोधन गरियो।’ श्री विद्यादेवी भण्डारीको सरकारको जनता हुन पाएकोमा धन्यवाद भन्दै खतिवडाले पूनः व्यंग्य गरे।

उनले भने, ‘हामीले एउटा राजा अर्को राजा स्थापना गर्न फालेका होईनौं। यो सरकार हामी सबै नेपालीहरुको हो।’ नेपालमा विदेशी पाहुनाहरु आउँदा नेपालको राष्ट्रिय पोशाक उपहार दिनुपर्ने पनि उनले सुझाए। उनले भने, ‘म पार्टी र जातीभन्दा धेरै माथि छु। म नेपाली हुँ भन्ने भावना सबै नेपालीमा आउन जरुरी छ।’

नेता खतिवडाले आजमात्रै फोरम नेपालसँग एकता घोषणा गरेका बाबुराम भट्टराईलाई जतिसुकै पार्टी परिवर्तन गरेपनि पोशाक परिवर्तन नगर्न आग्रह गरे। भुटानका राजाले विश्वकै जुनसुकै देशको भ्रमणमा जाँदापनि राष्ट्रिय पोशाक लगाएको उदाहरण दिँदै नेपालीहरुले पनि आफ्नो पोशाकलाई माया गर्नुपर्नेमा उनले जोड दिए।

नेता खतिवडाले भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा जनकपुरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित् भारतीय दुतावासमै लुगाको नापजाँच गरेर मोदीकै जस्तो नक्कल गरेको आरोप लगाए। उनले भने, ‘नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलेजस्तै पोशाक लगाएर जानुले नेपालको राष्ट्रियतालाई कमजोर पारेको छ। भारतप्रति उहाँले लम्पसार पर्नुभयो। र, त्यो उहाँको आत्मसमर्पणवादी कदम हो। यदि उहाँले त्यो ठाउँमा एउटा मात्रै भादगाउँले टोपी उपहार दिएर मोदीलाई पनि लगाउन दिएको भए त्यतिवेला हामी उहाँको राष्ट्रियताप्रति वाहवाही गर्दथ्यौं।’

खतिवडाले आफू ०७० सालमा सांसदमा निर्वाचित हुँदा संसद बैठकको सुरु दिनदेखि अन्तिम दिनसम्मपनि राष्ट्रिय पोशाकमै उपस्थिति भएको सुनाए। नेताहरुले पनि आफ्नो देशको पहिचान जोगाउनुपर्ने उनले सुझाए।