ओलीले जनकपुरमा लगाएको पोशाक मिथिलाको हो : शेरबहादुर तामाङ

sher bahadur tamang
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले नेपाली पोशाकको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन् । सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धन गर्नुपर्ने बताएका हुन्।

नेपालको राष्ट्रिय झण्डा विश्वसामू अलग पहिचानको भएजस्तै नेपालको राष्ट्रिय पोशाकपनि विश्वमै अलग पहिचान बोक्ने खालको भएको उनको भनाई छ। उनले भने, ‘विश्वको जुनसुकै कुनामा दौरा–सुरुवाल र राष्ट्रिय झण्डा बोकेर उभियो भने त्यो नेपाली नै हो भनेर विश्वले चिन्दछ।’ तामाङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा जाँदा नेपाली भाषामै सम्बोधन गरेको सुनाउँदै राष्ट्रपतिको उक्त सम्बोधनले नेपालको राष्ट्रियता बोकेको सुनाए। उनले भने, ‘यसको लागि राष्ट्रपतिज्यूलाई धन्यवाद छ।’

तामाङले आफ्नो मौलिकतामा गर्व गर्ने बानीको विकास गर्नुपर्नेमा पनि जोड दिए। उनले भने, ‘हाम्रो राष्ट्रिय नेपाली पोशाकले हामीलाई पहिचान दिनेछ। यो पोशाकमा कहीँकतै पनि खोट लगाउने ठाउँ छैन। दौरा–सुरुवालमै हामी सबै नेपालीहरुलाई सुहाउँछ।’ विश्वकै शक्तिशाली राष्ट्र चीनका राष्ट्रपतिले पनि विश्व मञ्चमा आफ्नै मातृभाषामा सम्बोधन गर्ने गरेको भन्दै चिनियाँ राष्ट्रपतिको उक्त कदमबाट नेपालीहरुले पनि सिक्नुपर्ने बताए।

तामाङले भने, ‘हाम्रा मन्त्री तथा प्रधानमन्त्रीहरुले अंग्रेजी भाषा जान्दै नजाने पनि त्यो राम्रो होईन भन्न मिल्दैन, नेपाली भाषामै सम्बोधन गरेर कार्यक्रममा उपस्थिति हुनुभयो भने पनि सम्मानजनक मानिन्छ। अंग्रेजी भाषा राम्रोसँग जान्दै नजानी विभिन्न कार्यक्रममा बोल्नाले साना तिना गल्तीहरुले पनि ठूलो आलोचना खेप्नुपरेको छ।’ यद्धपी उनले नेपाली महिलाहरु अन्तर्राष्ट्रिय समारोहमा सारी लगाएर सहभागी जनाउँदा भारतीय महिलाजस्तो देखिने भएकोले नेपाली महिलाहरुले अब गुन्यु–चोली लगाउनुपर्ने पनि धारणा राखे।

फरक प्रसँगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कुर्ता–सुरुवाल’ लगाएकोमा कांग्रेसका नेता रामहरि खतिवडाले गरेको टिप्पणीको खण्डन गर्दै भने, ‘प्रधानमन्त्रीले जनकपुरमा लगाएको कुर्ता सुरुवाल मिथिलाकै हो। तर, उहाँले लगाएको पोशाक रामहरिजीको नजरले भारतीय नजर देख्यो।’ नेपालको पहिचानसँगै समृद्धि आउने भएकोले सबै विकास निर्माणको काममा एकजुट भएर अघि बढ्नुपर्ने पनि उनले धारणा राखे।