काठमाडौं, २३ वैशाख। प्रदेश राजधानी विकेन्द्रित गर्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको विरोधमा आह्वान गरिएको विराटनगर बन्द मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि फिर्ता भएको छ।
सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगरभन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता भएको हो।
महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश राजधानी विराटनगरमा नै रहने र व्यवस्थापिका र कार्यपालिकाका संरचना पनि विराटनगरभन्दा बाहिर नलैजाने मुख्यमन्त्री र प्रदेश सांसदहरुको प्रतिवद्धतापछि बन्द फिर्ता भएको जानकारी दिए। उनले साँझ दिपावली गर्न विराटनगरबासीलाई आहृवानसमेत गरेका छन्।
आइतबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलले प्रदेश १ को राजधानी विराटनगरमा राख्ने निर्णय गर्दै कार्यपालिका र व्यवस्थापिकाको संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा संरचना निर्माण गर्ने निर्णय गरेको थियो।
मुख्यमन्त्री राई र सांसदहरुले संसदमा राजधानीको विषयमा दर्ता भएको प्रस्तावमाथि परेका संशोधन प्रस्तावहरु पनि फिर्ता लिने प्रतिवद्धता जनाएका मेयर पराजुलीले बताए।



लाेकपाटी न्यूज

