राजतन्त्र माग्नेहरू अपराधी हुन् : प्रधानमन्त्री

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको बताएका छन्। गृह मन्त्रालयमा सोमबार गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यो जनतामाथिको हमला हो, जनतामाथिको अपमान हो । यो आपराधिक कार्य र देशद्रोही कुरा हो ।’

जनता चुप लाग्दा प्रतिगामी तत्व सल्बलाउन थालेका छन् भन्दै जनता सचेत हुनुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ छ। राजतन्त्रमा हुने जन्मसिद्धश्रेष्ठता पाखण्डी सिद्धान्त भएको प्रधानमन्त्रीको टिप्पणी छ। उनले भने, ‘गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक रुप हो, प्रतिस्पर्धी प्रणाली हो।’

यस्तै प्रधानमन्त्रीले गणतन्त्र दिवस घरघर र परिवार परिवारमा मनाउनुपर्ने बताएका छन्। उनले सरकारले गणतन्त्र दिवस मनाउने जनताले हेर्ने मात्रै नभई जनताको सहभागितामै मनाइनुपर्नेमा जोड दिए ।उनले भने, ‘यो दिन परिवारभित्रै पनि उत्सवका रुपमा मनाउनुपर्छ। केही नभए घरका बच्चालाई यो दिवसको अवसर पारेर चकलेट वितरण गर्नुहोस्, किनकि आजको त्यो चक्लेट खाने बच्चा भोलिको राष्ट्रपति हुन सक्छ।’

प्रधानमन्त्री ओलीले गणतन्त्र जनताले लडेर ल्याएको बताउँदै यो दिनलाई जनताले साझा चाडका रुपमा उत्साहसाथ मनाउनुपर्नेमा जोड दिए।