बालुवाटारकाे जग्गा हडप्नेलाई कार्वाही हुनुपर्छ : विष्णु पौडेल

bishnu-paudel-1
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा आफू दोषी प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन्।

उनले ललिता निवास प्रकरणमा आफू दोषी प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको स्पष्टीकरण दिएका हुन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्र रुपमा छानबिन गरेर दोषी प्रमाणित कारबाही भोग्न तयार भएको बताए।

‘ललिता निवास जग्गा प्रकरणका सम्बन्धमा मलगायत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराईका नामहरु आएका छन्, मैले यस सम्बन्धमा सत्यतथ्य सार्वजनिक गरेको थिएँ, उनले भने, ‘वर्तमान सरकारले गैरकानूनी तवरमा व्यक्तिका नाममा रहेका सरकारी जग्गा सरकारको स्वामित्वमा फर्काउन चालेको कदमलाई स्वागत गर्दछु। यस प्रकरणमा म दोषी ठहर भएका कारबाही भोग्न तयार भएको अवगत गराउन चाहान्छु।’

उनले सरकार जनताप्रति उत्तरदायी भएको महसुस गरेको बताएका छन्। उनले भने, ‘यस वर्षको नीति तथा कार्यक्रमले एक थान नीति कार्यक्रम प्रस्तुत गरेरमात्र जिम्मेवार पूरा हुँदैन। यसको कार्यान्वयनका विषयमा जोड दिएकोले संसदप्रति जवाफदेहिता रहेको महसुस गरेको छु’