काठमाडौँ, २३ वैशाख। नेपाल कम्युनिष्ट पार्टी नेकपाले जेठ ३ गतेभित्र एकताका सबै काम सक्ने तयारी गरेको छ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको एक वर्ष पुगेको दिन जेठ ३ गतेभित्रै एकीकरणको सम्पूर्ण प्रक्रिया टुंगो लगाउने तयारी भएको नेताहरुले बताएका छन्।
नेताहरुबीच भागबण्डा नमिल्दा एक वर्षसम्म पनि एकता पूर्णता पाउन सकेको छैन। पार्टीको पोलिटब्युरो गठन हुनै बाँकी छ भने केन्द्रीय सदस्यको जिम्मेवारी र जनवर्गीय संगठनको एकतामा सहमति हुन सकेको छैन।
केही दिन अघि जिल्लाको एकता टुङ्गिएको थियो। जसमा केही असन्तुष्टि पनि देखिएका थिए। प्रदेश सदस्य जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य जिल्ला सचिव भएका जिल्लाहरुको जिम्मेवारी मिलाउन पनि बाँकी नै छ।
१ सय ४७ सदस्सीय पोलिटब्युरो बनाउने सहमति भएपनि त्यसमा को–को रहने भन्ने टुंगो लाग्न सकेको छैन। यस विषयमा शीर्ष तहमा छलफल भइरहेको नेताहरुले जनाएका छन्। पोलिटब्यूरो टुंगाउन कठिन नभए पनि आकांक्षी धेरै भएपछि समस्या देखिएको छ।
‘जेठ ३ गतेभित्र एकताका सबै काम टुङग्याउनुपर्ने नैतिक दबाब छ’, एक नेताले भने, ‘सोही अनुसार शीर्ष तहमा छलफल भइरहेको छ। आशा गरौँ नतिजा छिट्टै आउनेछ।’



लाेकपाटी न्यूज

