‘एघार प्रदेशमा जाउँ, संविधान संशोधन गरौं’

samaj_uSY4ayOgaB
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ।

सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत् दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो। एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे।

एकता समारोहमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले हल भरिभराउ थियो। एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ। पार्टीले ११ प्रदेशको माग अघि सारेको छ। दुई पार्टीबीच भएको ९ बुँदे सहमतिको ५ नम्बर बुँदामा संविधान संशोधन गरी ११ प्रदेशको रचना गरिनुपर्ने माग गरिएको हो।

सहमतिपत्रको बुँदा नम्बर ५ मा भनिएको छ, ‘हामी नेपाललाई साँचो अर्थमा संघीय राज्य बनाउन प्रतिवद्ध छौं। यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गरिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ।’

सहमतिपत्रमा नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेसी, आदीबासी जनजाती, शिल्पि, खस, मुस्लिम, थारुलगायतको सवालहरु सम्बोधन गरिनुपर्नेमा पनि जोड दिइएको छ। यस्तै विद्यमान पिछडिएको उत्पाद सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ।