काठमाडौं, २३ वैशाख। राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महन्थ ठाकुरले मधेसमा जन्मिएकै कारण आफूले नेपाली भन्ने सौभाग्य नपाएको बताएका छन्।
नागरिकताको विषय उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनेर प्रचार गर्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए। यदि भारतीयहरु नेपाली नागरिकता लिने लाइनमा छन् भने दिने सरकारी अधिकारी के हेरेर बसेका छन् भनेर उनले प्रश्न गरे।
सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ठाकुरले भने, ‘नागरिकताको सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ। यदि लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सिमा को बसेको हुन्छ ? गृहमन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इन्डियनहरु नै हो ? नागरिकता दिने पनि इन्डियनहरु हो ? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैन ?’
‘नागरिकताको कुरा सुन्नासाथ हाम्रो त दम घुट्छ, सास लिने अवस्था हुँदैन। आफ्नै घरमा, आफ्नै खेत र खलियानमा हामीले विदेशीको पीडा भोग्नु परिरहेको छ।पूर्वमन्त्रीसमेत रहेका ठाकुरले समानताको कुरा गर्ने नेताहरुले नै पहाडी र मधेसीबीच विभेद गरेको आरोप लगाए।
‘पहाडी परिवारमा जन्मिएको भए सायद मेरो पनि भाग्य हुन्थ्यो, नेपाली भन्ने सौभाग्य प्राप्त हुन्थ्यो,’ ठाकुरले भने, ‘तर मधेसी परिवारमा जन्मिएको हुँ, मधेसी भन्नुहुन्छ, अहिलेसम्म त्यो विभेद हटेको छैन।’



लाेकपाटी न्यूज

