नेपालगञ्ज, २३ वैशाख। नेपालगञ्जमा तीन लाख रुपैयाँ र दाइजो नल्याएको भन्दै एक महिलाको हत्या भएको छ। नेपालगञ्जका इस्लाम अहमद कुरैसीले दाइजो नल्याएको भन्दै छोरी रुक्सराको हत्या भएको बताएका हुन् ।
भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्ने साहेबे आलम कुरैसीसँग रुक्सराको नौ महिनाअघि विवाह भएको थियो। गत बिहीबार रुक्सरा झुण्डिएको अवस्थामा फेला परिन्। बुवा इस्लामले छोरीलाई पहिला मारेर पछि झुण्ड्याइएको दाबी गरेका छन्।
इस्लामले हत्या हुनु भन्दा एक घण्टा अघि छोरीसँग फोनमा कुरा गरेका थिए। घरपरिवारको अगाडि नै रहेकी रुक्सराले बुवासँग पनि राम्ररी बोलेकी थिइनन्। उनले खाना पकाइरहेको बताएकी थिइन्। बुवा इस्लामले अहिले घरपरिवारसँग केही नबोल्न र भोलि आफू आएपछि कुरा गर्ने आश्वासन दिएका थिए। बिहीबार १०.५१ बजे इस्लामले छोरीसँग गरेको टेलिफोन सम्वाद रेकर्ड गरेका छन्।
माइती पक्षका अनुसार, घरपरिवारले दैनिक ‘टर्चर’ दिइरहेपछि रुक्सराले दुई दिनदेखि खाना खाएकी थिइनन्। घरपरिवारले तीन लाख रुपैया र एउटा पल्सर मोटरसाइकल चाडो दिन दबाब दिइरहेका थिए। बुवा इस्लामले त्यो दिन भोलि नै कैलाली आएर छलफल गर्ने र जग्गा बेचेर तीन लाख र मोटरसाइकल दाइजो दिने आश्वासन दिएका थिए। तर, केही घण्टापछि फेरि फोन गर्दा छोरीले पासो लगाएर आत्महत्या गरेको जानकारी दिइयो।
‘उनीहरु होचो टीनले छाएको कोठामा बस्छन्। त्यहाँ झुण्डिएर आत्महत्या गर्न सम्भव नै छैन। त्यसमा पनि सबै घरपरिवार घरमै रहेको बेलामा मेरो छोरीले कसरी झुण्डिएर आत्महत्या गरिन्, बुवा इस्लामले भने, सबैले मिलेर घाँटी थिचेर मारेपछि झुण्ड्याइएको हो।’
इस्लामले प्रहरी कार्यालयमा कर्तव्य ज्यानमा जाहेरी दिए। प्रहरीले लिन मानेन। प्रहरीले आत्महत्या गर्न प्रेरितमा जाहेरी लिएको छ।



लाेकपाटी न्यूज

