भरतमोहनको स्मृतिमा स्वास्थ्य शिविर

59577384_552354071956014_6796466419396509696_n
लाेकपाटी न्यूज

काठमाडौं, २२ वैशाख। पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा जेष्ठ आमाहरुलाई सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको छ।

आइतबार सानेपामा आयोजित उक्त कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरे। पूर्वसांसद लक्ष्मीदास मानन्धरको सभापतित्वमा आयोजित उक्त उद्घाटन सत्रमा पूर्वमन्त्रीहरु, सांसद, समाजसेवी लगायतको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटनपछि सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वर्गीय भरतमोहन अधिकारी एक अनुकरणीय नेता रहेको बताउँदै स्वर्गीय अधिकारीबाट सिक्न सकेको खण्डमा देशले छिट्टै समृद्धि हासिल गर्ने बताए।

कार्यक्रममा पूर्वमन्त्री युवराज ज्ञवाली, सांसद सोमप्रसाद पाण्डे, सांसद कोमल वली लगायतले स्वर्गीय भरतमोहन अधिकारी ज्येष्ठ नागरिकप्रति निकै सद्भाव राख्ने नेता भएको चर्चा गर्दै देशको सामाजिक एवं आर्थिक क्षेत्रमा उनले पु¥याएको योगदान चिरस्मरणीय रहेको औल्याएका थिए।

कार्यक्रममा सभापतिको आसनबाट बोल्ने क्रममा पूर्व सांसद लक्ष्मीदास मानन्धरले स्वर्गीय अधिकारी इमान्दार, त्यागी र निष्ठावान राजनेता भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकहरुको जीवनको ठूलो साहराको रुपमा रहेको वृद्धा भत्ताजस्तो सामाजिक सुरक्षा भत्ताको सुरुवात गर्नु निकै सुन्दर पक्ष रहेको बताए।

त्यसैगरि स्वर्गीय नेता अधिकारीकी सुपुत्री लिमा अधिकारीले भरतमोहनमा बहुदलीय जनवादलाई समेटेर पुस्तक लेख्ने तथा ज्येष्ठ नागरिकका निम्ति दिवा सेवा खोल्ने धोको रहेको उल्लेख गर्दै उनी सामाजिक चेतनाका धनी रहेको बताइन्।

कार्यक्रममाभ करिव दुई सय जना जेष्ठ आमाहरु सम्मानित भएका थिए। जेष्ठ आमाहरुलाई खादा, प्रशंसापत्र, वस्त्र आदीले सम्मान गरिएको थियो। त्यसैगरि सोही प्राङ्गणमा निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको थियो।

उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, हाड जोर्नी आदीको चेकजाँच तथा निशूल्क रुपमा नै औषधि वितरण गरिएको थियो। त्यसैगरि कार्यक्रममा सौन्दर्य क्षेत्रमा सेवारत फेसियल हाउसले निशूल्क रुपमा जेष्ठ आमाहरुको केश सज्जा गरेको थियो।

कार्यक्रम मनमोहन स्मृति प्रतिष्ठानको आयोजना र वरिष्ठ नागरिक सेवा समाज सानेपा, ईश्वरलाल फाउण्डेशन काठमाडौं एवं स्टार हस्पिटल लिमिटेड सानेपा, ललितपुरको प्रायोजनमा सञ्चालनमा आएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्