सांसद विकास कोषको रकमबाट राउटे परिवारलाई पक्की घर

Raute
लाेकपाटी न्यूज

भीमदत्तनगर, २२ वैशाख। लोपोन्मुख राउटे समुदायका नागरिकले आजभोली सुविधातर्फ ध्यान दिन थालेका छन्।

कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ ध्यान दिन थालेका हुन्। भीमदत्तनगरपालिका ९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गरे।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टको सांसद विकास कोषको रकमबाट राउटे परिवारलाई पक्की घर बनाउन लागेको वडा नं. ९ का वडाध्यक्ष राम नाथले जानकारी दिए। मटेनामा एक दशकदेखि पाँच परिवार राउटे समुदाय बसोवास गर्दै आएका छन् भने भीमदत्तनगरपालिका ९ को खल्लागाउँमा तीन परिवार बस्दछन्।

घर निर्माणमा खटिएकी फुना राउटेले टहरामा निकै कष्टपूर्ण दैनिकी गुजार्दै आएको बताए। ‘अहिले पनि जङ्गलको काष्ठ सामग्री, जडीबुटी र गाउँघरमा मजदूरी गरेर जीविका चलाउँछौं’ उनले भने ‘हाम्रो बाच्ने आधार नै अहिले सरकारले दिने भत्ता भएको छ।’

वडाध्यक्ष नाथले राउटेको प्रतिव्यक्ति मासिक रु दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको जानकारी दिए। ‘ भत्ताबाटै रासन खरीद गरेर गुजारा गरिरहेका छन्’ उनले भने, ‘अहिले त गाउँघरमा घुलमिल भएर काम पनि गरिरहेकै हुन्छन्।’ अहिले गाउँमा राउटे समुदायका बालबालिका स्कुलसमेत जान थालेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्