काठमाडौं, २२ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता समितिसँग वार्ता नगर्ने घोषणा गरेका छन्। स्रोतकाअनुसार विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँगबाहेक अरुसँग वार्ता नगर्ने बताएका हुन्।
सरकारले समितिका संयोजक सोमप्रसाद पाण्डेलाई विप्लवसँग वार्ता गर्न जिम्मेवारी दिएको थियो। प्रधानमन्त्री ओलीले सुझाएअनुसार पाण्डेले पनि विप्लवसँग वार्ताको लागि धेरै पटक प्रयास गरे। तर, उनले विप्लव समूहका शीर्ष नेताहरुसँग वार्ता गर्न सकेनन्। यो बीचमा विप्लवले अब वार्ता नै गर्ने हो भने प्रधानमन्त्री ओलीबाहेक अरुसँग वार्ता नगर्ने निश्कर्षमा पुगेका छन्।
‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएको छ। सरकारको यो कदमको चौतर्फी विरोध पनि भएको थियो। अहिलेसम्मपनि सरकारको उक्त कदमको विरोध भैरहेको छ। तर, विप्लव समूहका केही प्रभावशाली नेताहरुले उत्तजेजक अभिव्यक्ति दिन थालेपछि प्रधानमन्त्री ओलीले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न खोजिरहेका छन्। सोहीअनुरुप पाण्डेले पनि वार्ताको प्रयास गरे। तर, विप्वल समूहले पाण्डेसँग वार्ता गर्ने कुनै छनक नै देखाएको छैन्।
विप्लवले चाहेजस्तो के अब प्रधानमन्त्री ओलीले उनीहरुसँग आँफै वार्ता गर्न तयार होलान त ? पक्कैपनि ओली आँफैले प्रतिबन्ध लगाएको शक्तिसँग वार्ता गर्न यति सजिलै तयार होलान भन्न सकिने अवस्था छैन।



लाेकपाटी न्यूज

