विद्युत बजारको कुनै समस्या छैन : कुलमान घिसिङ

kulman ghising
लाेकपाटी न्यूज

काठमाण्डौं,  २२ वैशाख। काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्डको निर्माण कार्य सम्पन्न भएकोे छ।काबेली करिडोर १ सय ३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सकिएको हो।

आयोजना अन्तर्गत सोयाक (इलाम)–फिदिम(पाँचथर) खण्डको निर्माण सम्पन्न भएपछि शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।  सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरतर्फ लगिएको छ।

सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमको थापाटार सबस्टेसनमा जोडिएको छ। ४२.८८ किलोमिटर लम्बाई भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर छन्। ‘निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या झेल्दै रुग्ण अवस्थामा पुगेको यो खण्ड स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय लगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं’, घिसिङले भने, ‘अब त्यस क्षेत्रमा नीजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन अभावमा खेर जाने छैन।’

उनले फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने बताए। पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो ।

झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो।

आयोजनाले निर्माण गर्नुपर्ने २ सय ६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बाँकी छ। लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारण लाइन २०७२को असोजबाटै सञ्चालनमा आइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्