काठमाडौं, २२ वैशाख। भारतमा लोकसभा चुनाव जारी रहँदा प्रमुख दलका नेताहरुबीचको विवाद चुलिएको छ। उनीहरु तल्लो स्तरमा ओर्लेर एक अर्काप्रति आरोप प्रत्यारोप गरिरहेका छन् ।
कांग्रेस आईका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्रलाई मोदी चोर र भ्रष्टाचारीको आरोप लगाउँदै आएका छन्। कांग्रेस आईले ‘चौकिदार चोर है’लाई चुनावी नाराकै रुपमा प्रयोग गरेको छ। अहिले मोदीले राहुललाई कडा जवाफ फर्काएका छन्। शनिबार उत्तरप्रदेशमा आयोजित एक सभामा उनले राहुलका बुबा राजीव गान्धी एक नम्बरको भ्रष्टाचारी भएको बताए।
राहुलले ‘राफेल डिल’मा मोदीले भ्रष्टाचार गरेको आरोप लगाइरहँदा मोदीबाट यस्तो प्रत्यारोप आएको हो। मोदीले भने, ‘तिम्रो बुबालाई आसेपासेहरुले मिस्टर क्लीनको उपमा दिएका थिए। तर, खासमा उनी भ्रष्टाचारी नम्बर १ थिए।’
उनले आफूलाई बदनाम गरेर प्रतिपक्षी दलहरुले देशमा अस्थिर र कमजोर सरकार बनाउन खोजेको आरोप लगाए । तर, आफूले ५० वर्षको तपस्याबाट आर्जन गरेको छवि सजिलै धुमिल नहुने उनको दावी थियो ।
राहुलको थप आलोचना गर्दै मोदीले भने, ‘तपाई जस्तो म सुनको चम्चाले खाएर हुर्किएको होइन । न त म कुनै शाही परिवारको सदस्य नै हुँ ।’



लाेकपाटी न्यूज

