युएई पुगेर लिङ्देनले भने, ‘राजसंस्था र हिन्दूराष्ट्रले स्थिरता दिन्छ’

Linde
लाेकपाटी न्यूज

स्टार श्रेष्ठ, युएई, २२ वैशाख।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी नेपाली एकता समाज युएइको प्रथम अधिवेशन उद्घाटन गर्न दुबई आएका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले पत्रकारसँगको संक्षिप्त भेटघाट कार्यक्रममा संसारको कुनै पनि मुलुकले धर्म र राजसंस्था मुद्दालाई लिएर समृद्धि हासिल गरेको छैन होला नि भन्ने प्रश्नको जवाफमा स्थायित्व बिना समृद्धि सम्भव नभएको बताए।

महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले मुलुकको स्थिरता र राष्ट्रिय स्वाधीनताको निमित्त राजसंस्था र सनातन हिन्दूराष्ट्र आवश्यक रहेको र हिन्दू राष्ट्र सम्पूर्ण नेपालीको परिचय भएको जिकिर गरे साथै उनले राजसंस्था समृद्धिको कारक र बाधक पनि नभएको बताए ।

घरेलु कामदारको विषयमा समेत कुरा राख्दै उनले लामो समयदेखि रोकिएको श्रम स्वीकृति खुलाउनपर्ने बताएका छन्। यस विषयमा आफूले श्रम रोजगार मन्त्रालय र श्रम समितिमा लिखित कुरा राख्ने प्रतिवद्धता जनाए।

यसैबीच प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिवेशनले शशी सिलवालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा मनोज जैसवाल, किशोर केशी, रमेश कुँवर रहेका छन्।

यस्तै सचिवमा देवराज पौडेल, कोषाध्यक्ष नारायण पोख्रेल, सहकोषाध्यक्ष कमला बस्याल रहेका छन्। समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मण श्रेष्ठलाई तोकिएको छ भने समाजको मध्यपूर्व संयोजकको जिम्मेवारी तोयानाथ लम्साललाई दिइएको छ।

अधिवेशनका लागि महामन्त्री लिङ्देनको नेतृत्व राप्रपा प्रदेश–५ का अध्यक्ष प्रदीपकुमार उदय, सहायक महामन्त्री राजाराम बर्तौला, प्रवास विभाग प्रमूख विजय खड्का यूएई आएका हुन्।