विष्णु पौडेलविरुद्ध कांग्रेसका उम्मेदवारको मोर्चाबन्दी

congress_rupandehi
लाेकपाटी न्यूज

काठमाडौं। रुपन्देहीका सांसद तथा नेकपाका महासचिव विष्णु पौडेलविरुद्ध रुपन्देहीका कांग्रेस उम्मेदवारहरुले मोर्चाबन्दी सुरु गरेका छन्। शनिबार पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो मोर्चाबन्दी गरेका हुन्। रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ का जनतालाई लज्जित गराएको भन्दै विपक्षी नेपाली कांग्रेसका प्रत्याशीहरुले नेकपाका महासचिव तथा संघीय सांसद विष्णुप्रसाद पौडेलले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका प्रत्याशी युवराज गिरी, प्रदेश सभाका प्रत्याशीहरु काजिमान श्रेष्ठ र महेशमान सिह, तिलोत्तमा नगरपालिकाका प्रमुखका प्रत्याशी रामकृष्ण खाँण, बुटवल उपमहानगरका खेलराज पाण्डे र सैनामैना नगरपालिकाका फणिन्द्र शर्माले आज बुटवलमा संयुक्त पत्रकार सम्मेलन गर्दै बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा मुछिएपछि पौडेलले नैतिक जिम्मेवारी लिँदै पदीय जिम्मेवारी छोडेर छानबिनमा सहयोग गर्न माग गरेका हुन्।

पौडेलका कारण रुपन्देही क्षेत्र नम्बर २ को मतदाता र बासिन्दा हुँु भन्न समेत लज्जाबोध भइरहेको भन्दै कांग्रेसका प्रत्याशीहरुले बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले पौडेललाई उन्मुक्ति दिन लागि परेको बताए। सुकुम्बासी र भूमिहीनहरुलाई लालपुर्जा दिन्छु भनेर चुनाव जितेका पौडेल आफै सरकारी जग्गा हडप्न तल्लीन रहँदा रुपन्देही क्षेत्र नम्बर २ का जनताको शिर निहुरिएको उनीहरुले बताए।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका प्रत्याशी युवराज गिरीले बालुवाटार जग्गा प्रकरणमा आफनै पार्टी सभापति शेरबहादुर देउवा नै दोषी देखिए पनि कारबाही हुनुपर्ने भन्दै देउवालाई देखाएर पौडेललाई उन्मुक्ति दिन भने कांग्रेसले नदिने बताए। ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन होस् र दोषीमाथि कडाभन्दा कडा कारबाही होस् भन्ने पक्षमा कांग्रेस रहेको उनीहरुको भनाइ छ।

उनीहरु शनिबार पत्रकार सम्मेलन गरेरै पौडेलविरुद्ध उभिएका हुन्। पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरुले सरकारी सम्पत्ति हडप्नेहरु सरकार र पार्टीको जिम्मेवारीमा बस्न नहुने समेत बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्