काठमाडौं, २१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सञ्चार माध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग मेरो सरकार भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्नुपर्ने बताए। ‘मैले मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र ?,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति देशको अभिभावक हो। राष्ट्रप्रमुख पनि हो। संस्था हो।’
मेरो सरकार भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने उनले बताए। ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन्। राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो,’ प्रधानमन्त्री ओलीले भने।
मेरो सरकार भन्ने अभ्यास अरु देशहरुमा पनि हुने उनले बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक मेरो सरकार भनेकोमा तीव्र आलोचना भइरहेको थियो।



लाेकपाटी न्यूज

