सञ्चार माध्यमले बाटो बिराए : सञ्चारमन्त्री बास्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं, २० वैशाख। संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यमहरुले बाटो बिराएको बताएका छन्।

मन्त्री बास्कोटाले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै संचार माध्यामहरुप्रति गुनासो व्यक्त गरे।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने बताए। नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने मन्त्री बास्कोटाको भनाई थियो।

मन्त्री बास्कोटाले संविधानको मूलभूत मान्यताभन्दा बाहिर गएर कानुन बनाउने आशंका नगर्न समेत आग्रह गरे।
सरकार लोकतन्त्रको विश्वव्यापी मान्यतामा एकाकार र सहमत भएर अघि बढन प्रतिवद्ध रहेको पनि मन्त्री बास्कोटाले बताए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले प्रेस स्वतन्त्रता सुनिश्चित गर्नु आज पनि चुनौतिको रुपमा रहेको पनि दोहोर्‍याए। अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रको रक्षाका लागि जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यक्ता रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्