काठमाडौं, २० वैशाख। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन्।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले शुक्रबार आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उनले काठमाडौंको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताएका हुन्।
“यातायात क्षेत्रको सुधारका लागि अस्तव्यस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर हटाउन लागेका छौँ”,उनले भने। प्रमुख जिल्ला अधिकारी आचार्यले उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि रु पाँच करोडको लगानीमा सिसी क्यामरा जडान गर्न लागेको जानकारी दिए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन महाशाखाले तीन महीने कार्ययोजना बनाएर अगाडि बढेको बताए। उनले काठमाडौंमा बढ्दै गएको ट्राफिक जामलाई न्यूनीकरण गर्न टुँडिखेल वरपरका क्षेत्र र कोटेश्वरमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरिएको बताउँदै आइतबारदेखि उक्त व्यवस्था कलङ्की क्षेत्रमा पनि लागू गरिने बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले मुलुकको समग्र यातायात क्षेत्रको सुधारका लागि बस काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने बताएका छन्। “यात्रुले अनिवार्यरुपमा टिकट काटेर यात्रा गर्नुपर्छ”,उनले भने।
यातायात क्षेत्रको महाशाखाले कलङ्की क्षेत्रलाई व्यवस्थित गर्नका लागि उपत्यकाभित्र चल्ने सवारी साधनलाई एक ठाउँ उपत्यका बाहिर चल्ने सवारी साधनलाई अर्को ठाउँ र मोटरसाइकललाई अर्को ठाउँमा ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाइएको प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए।



लाेकपाटी न्यूज

