किम जोन उनका भाइ मारेको आरोप लागेकी महिला जेलमुक्त

pic 2
लाेकपाटी न्यूज

एजेन्सी। उत्तर कोरियाका शासक किम जोन उनका सौतेनी भाइलाई मारेको अभियोगमा दुईवर्षदेखि मलेसियाको जेलमा रहेकी एक भियतनामी महिलालाई जेलमुक्त गरिएको छ।

डोआन थि होउङ्ग नाम गरेकी ३० वर्षीया ती महिलाका वकिलले शुक्रबार उनी जेल मुक्त भएको जानकारी दिएका छन्। सन् २०१७ मा इन्डोनेसियन महिलासँग मिलेर उत्तर कोरियाली शासक उनका सौतेनी भाइ किम जोङ नामलाई क्वालालम्पुरको एयरपोर्टमा भिएक्स नामक प्रतिबन्धित रसायन दलेर मारेको आरोप महिलामाथि लगाइएको थियो।

होउङ्गसँगै नामको हत्यामा आरोपित इन्डोनेसियन महिला सिति आइसालाई भने गएको मार्चमै जेलमुक्त गरिएको थियो। उनको मुद्दा पनि सरकारी वकिलले फिर्ता लिएका थिए।

होउङ्गले नामसँग प्र्याङ्क गर्नमात्रै कोसिस गरेको जिकिर गरेपछि मलेसियाका सरकारी वकिलले उनीविरूद्ध लगाइएको कर्तव्य ज्यानसम्बन्धी उजुरी फिर्ता लिएका हुन्। आफूहरूले टिभी कार्यक्रमका लागि प्र्याङ्क गरेको दुवै महिलाले बताएका थिए।

आफूले प्रयोग गरेको रसायनमा विष भएको कुरा आफूलाई थाहा नभएको उनीहरूले बताउँदै आएका थिए। किमको हत्या नगरेको पटकपटक बयान दिएपछि सरकारी वकिलले उनिहरूलाई नामको हत्या अभियोगबाट मुक्त गरिदिएको हो।

होउङ्ग शुक्रबार आफ्नो देश भियतनाम फर्किने उनका वकिल हिस्याम तेहले बताएको रोयटर्सले जनाएको छ।
उनलाई जेल मुक्त गरेलगत्तै विमानस्थलको अध्यागमनको हिरासतमा राखिएको छ। उनलाई भियतनामको राजधानी हानोइ पठाउनुअघि त्यहाँ राखिने बताइएको छ।

दक्षिण कोरिया र अमेरिकाले आफ्नो देशको वंशवादी कानुनको आलोचना गरेका कारण उत्तर कोरियाको सत्ताले नै नामको हत्या गर्न आदेश दिएको आरोप लगाएका थिए। तर उत्तरकोरियाले भने यो आरोपलाई इन्कार गरेको थियो।