एजेन्सी। मोटोपनाको समस्या संसारभरि नै बढ्दै गएको छ। नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ। भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा हामीकहाँ पछिल्लो समय बढेको छ।
मोटाइने अनि पेट लाग्ने डरकै कारण दुब्ला पातला मानिसले समेत सकेसम्म कम भात खाने गरेको पाइन्छ। तर जापानको क्योटोस्थित दोशिशा वुमन्स कलेज अफ लिबरल आर्ट्समा प्राध्यापक टोमोको इमाइको नेतृत्वमा भएको पछिल्लो अनुसन्धानले भने भात खाने बानीले मोटोपना रोक्न मद्दत गर्ने देखाएको छ।
अनुसन्धानमा १ सय ३६ देशको प्रतिव्यक्ति दैनिक चामल र क्यालोरी खपतको अध्ययन गरिएको थियो। यसमा बडी मास इन्डेक्स (बीएमआई) सम्बन्धी तथ्यांक पनि केलाइएको थियो। यस क्रममा भातको खपत न्यून भएको देशको तुलनामा नियमित आहारामा भातको प्रयोग बढी हुने जापानलगायत एशियाली देशमा मोटोपना कम पाइयो।
दैनिक प्रतिव्यक्ति चामल खपत ५० ग्राम मात्र धेरै हुँदा मोटोपना १ प्रतिशत घटेको अनुसन्धानले देखाएको छ।विकसित देशहरूमा शरीरको तौल घटाउन कार्बोहाइड्रेट न्यून भएको खानेकुरा खाने चलन बढी छ। यी देशमा भातको उपभोग पनि निकै कम छ। तर नियमित आहारमा भात अनिवार्य भएका जापानी र एशियाली खानाले मोटोपना घटाउन मद्दत गर्ने इमाइले बताइन्।
भातमा पोटासियम म्यग्नेसियम, आइरन, फोलेट र फाइबर जस्ता पोषक तत्त्व अधिक मात्रामा हुन्छ। यसमा स्याचुरेटेड फ्याट र सुगरको मात्रा पनि कम हुन्छ। भातमा हुने पोषक तत्त्व र अन्य कम्पाउन्डका कारण पेट डम्म भरिएको आभास हुन्छ र धेरै खाने बानी रोक्न मद्दत गर्ने इमाइले बताइन्।
‘विश्वभर बढ्दो क्रममा रहेको मोटोपनाको स्तरलाई दृष्टिगत गर्दा पश्चिमा देशमा समेत मोटोपना घटाउन धेरै भात खान सुझाव दिन सकिन्छ,’ उनले भनिन्। नियमित खानामा भात समावेशको कारण नै पश्चिमा देशको तुलनामा पूर्वी देशमा मोटोपना भएका मानिस कम भएको नेशनल ओबेसिटी फोरमका अध्यक्ष टाम फ्रेले बताएका छन्।



लाेकपाटी न्यूज

