प्रविधिलाई उत्पादन र विकाससँग जाेडाैं : प्रधानमन्त्री ओली

लाेकपाटी न्यूज

काठमाडौं, १९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गलत प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यम बनेको टिप्पणी गरे। ‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो’उनले भने, ‘त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानुपर्छ।’

प्रधानमन्त्री ओलीले नेपालमा केही वर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनाैंठो मानिने बताउंदै अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताए। ‘केही वर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनाैंठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो’ उनले भने।

ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताए। ‘प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ। त्यसको सदुपयोग गर्नु पर्दछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्