‘फि’काे सट्टा स्कुलमा एक झोला फोहोर

students
लाेकपाटी न्यूज

काठमाडौं। शिक्षाको व्यापारीकरणले गर्दा अभिभावकहरुलाई आफ्ना बच्चाबच्ची पढाउनसमेत सकस भइरहेका बेला भारतमा एउटा अनौठो स्कुल फेला परेको छ। जहाँ स्कुल पढ्न पैसा होइन एक झोला फोहर बुझाउनु पर्छ।

उक्त स्कुलमा अभिभावकले आफ्ना छोराछोरी पढाउँदा शुल्कको रुपमा रकम बुझाउनु पर्दैन फोहोरको पोको बुझाए पुग्दछ। भारतको असम राज्यस्थित पमोहीमा छ यो अनौठो स्कुल। उक्त स्कुलको नाम अक्षरा हो विद्यालय। सन् २०१६ को जुन महिनामा स्थानीय एक समाजसेवी जोडीले उक्त स्कुलको स्थापना गरेको हो।

सुरुमा निःशुल्क रुपमा पढाउने स्कुल स्थापना गर्ने उनीहरुको विचार थियो। तर स्थानीय समुदायमा प्रदूषणको समस्या निकै टड्कारो देखेपछि उनीहरुले नयाँ जुक्ति लगाए। स्थानीय मानिसहरुमा प्लास्टिक जलाउने चलन थियो र त्यसरी प्लास्टिक जलाउँदा हावा निकै प्रदूषित भइरहेको थियो। त्यसैले उनीहरुले उक्त स्कुलमा शुल्कको रुपमा अभिभावकले आफ्नो घरमा संकलन गरेको प्लास्टिक फोहोर बुझाउनुपर्ने नियम बनाए।

स्थानीय ढुंगाखानीमा काम गर्ने बालबालिकाहरुलाई उत्प्रेरित गर्दै स्कुलसम्म ल्याउने चुनौती पार गर्नका लागि विद्यालय संस्थापकहरुले अर्को अनौठो जुक्ति पनि लगाएका छन् । उक्त विद्यालयमा ठूलो कक्षाका विद्यार्थीले सानो कक्षाका विद्यार्थीलाई पढाउने र सिकाउने गर्दछन्। त्यसरी पढाएबापत उनीहरुलाई खेलौना मुद्रा प्रदान गर्ने गरिन्छ।

ती डमी पैसालाई विद्यार्थीहरुले नजिकैका निश्चित पसलमा गएर अन्य सामान्य मुद्रा जसरी नै किनमेल गर्न सक्दछन्। विद्यालय र पसलेबीच सम्झौता गरिएको छ र त्यसरी हरेक दिन पसलमा ल्याएर सामान खरीद गरिएका डमी पैसाबापत पसलेलाई पछि रकम भुक्तानी गरिन्छ।

स्कुलको पाठ्यक्रमसमेत बाल अधिकार, बाल शिक्षा, वातावरण संरक्षण आदिमा जोड दिएर तयार पारिएको छ। प्लास्टिकका फोहोरलाई पुनःचक्रण तथा पुनः प्रयोगका विधिका बारेमा पनि विद्यालयमा सिकाइन्छ।

४ देखि १५ वर्षसम्मका १ सय जना विद्यार्थीले अहिले उक्त विद्यालयमा पढ्दै आइरहेका छन्। हरेक विद्यार्थीले हरेक हप्ता कम्तीमा पनि २५ थान प्लास्टिकका फोहोरहरु विद्यालयमा ल्याउनुपर्ने नियम छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्