चितवन, १९ वैशाख। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका हरेक घरमा छिटै शुद्ध खानेपानी पुर्याउने बताएकी छिन्।
उनले काठमाडौंमा जस्तो पानी नपाउने अवस्था आउन नदिने बताईन्। भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बुधबार भएको अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर महानगरका हरेक नागरिकको घरमा शुद्ध खानेपानी पुर्याउन आफू लागिरहेको बताएकी हुन्।
उनले भनिन्, ‘खानेपानी विस्तार हुँदै गइरहेको छ, शुद्ध खानेपानीको पहुँच महानगरवासीलाई सहज रुपमा उपलब्ध गराउन कुनै कसर बाँकी राख्ने छैन्।’ अहिले भरतपुरमा ४३ प्रतिशत नागरिकमा शुद्ध खानेपानी पुगेको छ। महानगर प्रमुख दाहालले भनिन्, ‘वर्सेनी खानेपानीको पहुँच बढ्दै जान्छ।’
सडक विस्तार, ढल व्यवस्थापन र विद्युतको कारणले खानेपानी वितरण र विस्तारमा केही समस्या आएको बताइन्।
महानगरकी उपमेयर पार्वती शाहले शुद्ध पानी वितरण गर्दा सडक, विद्युत् र ढल व्यवस्थापनका लागि महानगरले नीति ल्याउने तयारी गरेको जानकारी दिईन्।
बोर्डले हालसम्म १ देखि १६ र २२ मा शुद्ध पानी दिँदै आएको छ। ३३ वटा डिप बोरिङ्गमार्फत दैनिक १२ घण्टा पानी दिँदै आएको छ। दैनिक औषत २ करोड ५ लाख लिटर पानी उत्पादन गरी वितरण गरेको बोर्ड प्रमुख प्रशासकीय अधिकृत एवं सूचना अधिकारी संजय बरालले जानकारी दिए।



लाेकपाटी न्यूज
