काबुल, १८ वैशाख। अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदैछ।
तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताए। हालैका महिनाहरुमा दुबै पक्षबीच छ चरणको वार्ता भइसकेको छ। तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले नयाँ चरणको वार्ता कतारको दोहामा बुधबारदेखि हुने जानकारी दिए।
काबुलस्थित अमेरिकी राजदूताबासले उक्त वार्ताका बारेमा कुनै टिप्पणी गरेको छैन्। तर अमेरिकी विदेश मन्त्रालयले यसअघि नै अफगानिस्तानका लागि विशेषदूत जाल्मे खलिलजाद यसै महिना तालिबानसँग भेटघाट गर्न जाने बताइसकेको छ।
अफगानिस्तानका लागि पूर्व अमेरिकी राजदूत समेत रहिसकेका खलिलजादले अफगान शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्र्याउन पहल गरिरहेका छन्। आइतबार वासिङ्टन डिसीमा कुरा गर्दै खलिलजादले अफगान युद्धमा वार्षिक ४५ अर्ब अमेरिकी डलर खर्च भइरहेको जानकारी दिए।
अमेरिकी करदाताको रकम सैनिक प्रयोजनमा खर्च गरिरहनु ठीक होइन,उनले भने। सन् २००१ देखि यतामात्र अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भइरहेको युद्धमा दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ। ९एएफपी०



लाेकपाटी न्यूज

