एजेन्सी। अमेरिकाले भेनेजुएलाका राष्ट्रिपति निकोलस मदुरो भाग्न तम्तयार भएको दाबी गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता ख्वान ग्वाइदोले विद्रोहको आह्वान गरेपश्चात मङ्गलवार राष्ट्रपति मदुरो क्युबा निर्वासनमा जान तम्तयार भएको दाबी गरेका हुन्।
पोम्पेओले भने, ‘विमानस्थलमा मदुरोलाई लैजान विमान तयारी हालतमा राखिएको पनि थियो।’ तर, रुसले उनलाई देश नछाड्न दबाव दिएको पोम्पेओले बताए। यसअघि अन्य अमेरिकी अधिकारीहरूले रक्षामन्त्री भ्लादिमिर पाद्रिनोसहित अन्य वरिष्ठ भेनेजुएलाली नेताहरूले मदुरोलाई हटाएर ग्वाइदोलाई समर्थन गर्न तयार भएको बताएका थिए। तर, त्यसयता जनरल पाद्रिनोले मदुरोप्रति सेनाको समर्थन दोर्होयाएका छन्।
विपक्षी नेता ग्वाइदोको आह्वानमा भेनेजुएलाका विभिन्न सहरमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन मङ्गलवार दिनभरि प्रदर्शनकारी तथा सुरक्षा फौजबीच हिंसात्मक झडप भएको थियो। झडपमा झन्डै एक सय जना घाइते भएको बताइएको छ।
मदुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देश छन्। ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित दर्जनौँ राष्ट्रले मान्यता दिएका छन्। मदुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्छन्। ग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रप्रमुख घोषणा गरेसँगै उनको सम्पत्ति रोक्का गरिनुका साथै देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो।
तर, त्यसलाई उल्लङ्घन गर्दै मानवीय सहायता भित्र्याउने तथा मदुरोविरुद्धको आन्दोलनका लागि समर्थन जुटाउने उद्देश्य लिएर ग्वाइदो फेब्रुअरी महिनामा ल्याटिन अमेरिकी देशको भ्रमणमा गएका थिए।
उनी पक्राउ पर्नसक्ने जोखिममाझ मार्च महिनाको पहिलो साता स्वदेश फर्किए। ग्वाइदो स्वदेश फर्कनुअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै मदुरो प्रशासनलाई सचेत गराएका थिए।
चरम आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलामा राजनीतिक सङ्कट पनि थपियो। केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले हुवान गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि त्यहाँको राजनीतिक सङ्कट झन् जटिल बनेको हो।
ह्युगो चाभेजको मृत्युपछि राष्ट्रपति निर्वाचित मदुरोको यो दोस्रो कार्यकाल हो। तर, उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ। चर्को मुद्रास्फीति, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्।
राष्ट्रपति मदुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए। तर भेनेजुएलाका सैन्य फौजले मदुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका थिए।
भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख गुआइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन्। मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्। विदेशीको चलखेल गराएर गुआइदोले आफ्नो सत्ता हत्याउन खोजेको आरोप उनले लगाएका छन्।
उनले देशमा गृहयुद्ध हुन सक्ने चेतावनी उनले दिने गरेका छन्। राष्ट्रसङ्घीय शरणार्थी नियोगका अनुसार केही महिनाअघि भेनेजुएलामा सङ्कट चुलिएपछि लाखौँ मानिसहरूले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको थिए।
महंगी धेरै बढेकाेले पेट्रोलियम पदार्थमा धनी देश भएर पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ। तर, मदुरोले आफ्नो देशमा सङ्कट रहेको स्वीकारेका छैनन् र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्।



लाेकपाटी न्यूज

