सामाजिक सुरक्षा ऐनलाई प्रभावकारी बनाउनुपर्छ : सानुकुमार श्रेष्ठ

sanukumar
लाेकपाटी न्यूज

हेटौँडा, १८ वैशाख। प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आन्दोलनकारी शक्तिले नै अहिले राष्ट्रमा सरकार प्रमुखको नेतृत्व सम्हालेकाले मजदूरको बृहत हितको लागि सामाजिक सुरक्षा ऐन र श्रमिक ऐनलाई व्यावहारिक, प्रभावकारी रुपमा कार्यान्वयन गर्न अग्रसरता लिनुपर्ने बताएका छन्।

सभामुख श्रेष्ठले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ मकवानपुरद्वारा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा राजनीतिक परिर्वतनले फड्को मारेकाले अब राजनीतिक कार्यकर्ता र मजदूरले आन्दोलनको नाममा ध्वंस गर्ने प्रवृत्तिलाई त्यागेर सिर्जनशील निर्माण कार्य र आर्थिक समृद्धिको लागि एकजुट हुन आह्वान गरे।

सो अवसरमा नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश नं ३ का सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामीले मजदूरलाई आर्थिक, सामाजिक रुपमा स्थापित गराई राष्ट्रलाई आत्मनिर्भर हुने उद्योगमा परिचालन गर्ने क्रममा व्यवस्थापनसँग सहकार्य गरेर ट्रेड युनियन महासङ्घलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै सामाजिक सुरक्षा ऐन र श्रम ऐनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्दै लैजान प्रदेश सरकारले अब नेतृत्व लिएर थप ऐन कानून ल्याउनु पर्नेमा जोड दिए।

सो अवसरमा नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष जय कार्की, मजदूर नेत्री बेलीमाया गोले, समाजसेवी बरुण शाह, श्याम श्रेष्ठ र ट्रेड युनियन महासङ्घ मकवानपुरका अध्यक्ष अर्जुन ढुङ्गेलले औद्योगिक क्षेत्र, प्रतिष्ठान र मझौला उद्योगमा कार्यरत मजदूरलाई उनीहरुको विकासको लागि स्थानीय निकाय र प्रदेश सरकारको सम्बन्धित निकायको सहयोग सद्भाव आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्