‘स्वदेशमै रोजगार सिर्जना गर्न हामी प्रतिबद्ध छाैं’: प्रधानमन्त्री ओली

KP Sharma Oli
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न गम्भिरतापूर्वक लागेको बताएका छन्।१३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकार देशभित्रै रोजगारी सिर्जना गर्ने प्रतिवद्ध रहेको बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको पहिचान र सूचीकरण गर्ने काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सूचीकृत बेरोजगारलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारी दिने काम सुरु भइसकेको सन्देशमा उल्लेख गरेका छन्।

सरकारले श्रमजीवीको अधिकार सुनिश्चित गर्ने श्रम ऐन, २०७४ कार्यान्वयन गराउन सरकार लागिपरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको जानकारी दिएका छन्। सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो।

‘गौरवमय दिनको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवि दिदीबहिनी एवं दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना प्रकट गर्दै नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको उच्च सम्मान छ’ शुभकामना सन्देशमा भनिएको छ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नाराका साथ बुधबार १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्