काठमाडौं, १८ वैशाख। सत्तारुढ भारतीय जनता पार्टीकी शक्तिशाली महिला श्रीमती सोनल शाह नेपाल भ्रमणमा आउने भएकी छिन्। सोनल शाह पशुपतिनाथमा पूजा गर्न बिहिबार काठमाडौं उत्रन लागेको स्रोत ले जनाएको छ।
भारतमा लोकसभा निर्वाचन भइरहेका बेला उनी पशुपतिको दर्शन गर्न काठमाडौं आउने भएकी हुन्। हिन्दु धर्म परम्परामा विश्वास राख्ने भाजपाले निर्वाचनमा पनि कतिपय धार्मिक एजेण्डा उठाउँदै आएको छ। सोनल शाह भाजपाका अध्यक्ष अमित शाहकी श्रीमती हुन्, जसले दिल्लीमा हुने राजनीतिक खेलहरूमा प्रधानमन्त्री नरेन्द्र मोदी र अध्यक्ष अमित शाहबीच सन्तुलन कायम राख्न भूमिका खेल्दै आएको मानिन्छ।
गुजरातबाट राजनीतिमा उदाएका मोदी र गुजरातबाटै आएका प्रभावशाली नेता शाहबीचको गठजोडबारे दिल्लीमा निकै चर्चा हुने गर्दछ। यी दुईको गठबन्धनकै परिणाम अघिल्लो निर्वाचन जितेर भाजपाका कतिपय प्रभावशाली नेतालाई पछि पार्दै मोदी शक्तिशाली प्रधानमन्त्री बन्न सफल भएका थिए। भाजपा र सरकारबीच सेतुको काम गर्ने दिल्लीमा धेरै मध्यस्थकर्ता छन्, तीमध्ये एक प्रभावशाली खेलाडी मानिन्छिन् श्रीमती सोनल शाह। गुजरातको सोनल परिवार तत्कालीन भारतीय जन संघमा आवद्ध थिए। उनकै परिवारले मोदीलाई भाजपा राजनीतिमा अगाडि बढ्न सहयोग गरेको मानिन्छ। ।
काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले सोनलको नेपाल भ्रमण कार्यक्रमबारे आधिकारिक रुपमा पुष्टि गर्न चाहेका छैनन्। तर दूतावासले प्रहरी महानिरीक्षकको सचिवालयमा आवश्यक सुरक्षा प्रवन्ध गर्न पत्राचार गरिसकेको छ।
‘पशुपतिनाथमा विशेष पूजा र अन्य केही शक्तिपिठको दर्शन गर्ने सोनलको कार्यक्रम छ, जहाँ उनले संभवतः निर्वाचनमा भाजपालाई विजयी बनाउन कामना गर्नेछिन्’, भाजपाका नेताहरूको पशुपति यात्राबारे जानकार एक जना प्रहरी अधिकारीले भने।
हिन्दु धर्ममा विश्वास राख्ने भारतीय प्रधानमन्त्री मोदी आफै पनि नेपाल आउँदा पशुपतिनाथ, मुक्तिनाथ र रामजानकी मन्दिर पुगिसकेका छन्। निर्वाचन भइरहेको बेला भारतबाट हिन्दु धार्मिक नेताहरूको नेपाल भ्रमण बाक्लिएको छ। केही साताअघि आरएसएस तथा गायत्री परिवारका अध्यक्षले नेपाल आएर निर्वाचनमा भाजपालाई विजयी बनाउन कामना गर्दै पशुपतिनाथमा विशेष पूजा गरेका थिए।
भारतकी शतगुरु माता सदिक्षा १० दिन लामो नेपाल भ्रमणको क्रममा आइतबार काठमाडौं आइपुगेकी छिन्। यसअघि भाजपाका केन्द्रीय सदस्य प्रतिकसिंह जानु पनि काठमाडौं आएका थिए। ८ चैत्र २०७५ मा दलबलसहित काठमाडौं आइपुगेका उनले नेपालका विभिन्न शक्तिपिठहरुमा दर्शन गरेका थिए।



लाेकपाटी न्यूज

