प्युठान, १७ बैशाख । जिल्ला विपद व्यवस्थापन समिति प्युठानले आगलागी सम्बन्धि जनचेतनामुलक कृत्रिम व्यवहारिक अभ्यास मंगलबार प्रस्तुत गरेको छ ।
विशेष गरी सुख्खा याममा वर्षेनी आगलागी बाट जिल्लामा धनजनको क्षती हुने गरेको छ । आगलागीका घटना कसरी हुन्छ, घटना घटिसकेपछि उद्दार तथा राहतका प्रक्रिया कसरी हुन्छ, घटनाको सूचना संकलनदेखि उद्दार, राहत तथा पुनस्र्थापनामा कुन कुन निकायको के कस्तो भूमिका रहन्छ, आगलागीका घटनाबाट बच्न व्यक्ति, परिवार तथा समुदाय कसरी सचेत रहनुपर्दछ भन्ने जस्ता विषयबस्तुलाई समेटेर सबै क्रियाकलाप प्रत्यक्ष रुपमा अभ्यास गरेर देखाइएको थियो । अभ्यास तीन दिन सम्म चलाइएको थियो ।
मंगलबार सञ्चालित कृत्रिम व्यवहारिक अभ्यासमा जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमूख तथा प्रतिनिधिहरु, कार्यालय प्रमूखहरु, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधहरु, सुरक्षाकर्मीहरु, विद्यालयका विद्यार्थीहरु तथा स्थानीय सर्वसाधारण उपस्थिति रहेको थियो । उक्त कार्यक्रम प्यूठान नगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिभिजन बन कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायतका निकाय तथा संघसंस्थाको प्राविधिक सहयोग तथा व्यवस्थापनमा सञ्चालन भएको थियो ।
जनचेतनासंगै जोखिम घटाउन अभ्यास कार्यक्रम
प्यूठान जिल्लाका सरुमारानी, नौबहिनी लगायतका स्थानीय तह आगलागीबाट बढी जोखिममा रहेको र हरेक बर्ष ठूलो धनजनको क्षति हुने गरेको हुँदा जनचेतना फैलाउने तथा विपदका घटना व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले व्यवहारिक अभ्यास सञ्चालन गरिएको कुरा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए।
८२ आगलागीका घटना
आर्थिक बर्ष २०७५।०७६ को वैशाख १५ सम्म प्यूठान जिल्लामा आगलागीका ८२ वटा घटना भएका र उक्त घटनाबाट २ जनाको मृत्यू र करिब २ करोड भन्दा बढीको आर्थिक तथा भौतिक क्षति भएको प्रजिअ गैरेले जानकारी दिए। उनले विपदका घटना घटिसकेपछि जतिसक्दो छिटो उद्दारको व्यवस्था मिलाइँदै आएको, त्यसका लागि सबै सुरक्षा निकायमा त्तच्त्रक्ष्च्त् को व्यवस्था मिलाइएको, सूचना आदानप्रदानमा स्थानीय तहसँग समन्वय गरिएको, जतिसक्दो छिटो सकेसम्म घटनास्थलमा नै पुगी तत्काल राहत दिने व्यवस्था मिलाईएको जानकारी गराए।
विपद् न्युनीकरणका लागि स्थानीय तहसँग सहकार्य
जिल्लाका झिमरुक तथा माडी नदी आसपासका बस्तीहरु बाढिबाट जोखिममा रहेको साथै नौबहिनी र गौमुखी गाउँपालिकाहरु पहिरोबाट बढी जोखिममा रहेको प्रजिअ गैरेले बताए। समग्र विपद व्यवस्थापनका लागि स्थानीय तहहरुसँग समन्वय गरी कार्य भइरहेको उनले बताए।
जिल्ला विपद व्यवस्थापन समितिको बैठक नियमित बसी विपद जोखिम न्यूनीकरण, पूर्व तयारी तथा उद्दार एवं राहतका क्षेत्रमा केही प्रगतिहरु भएको र आगामी दिनमा खासगरी पहिरोबाट जोखिम स्थानहरुमा वस्ती स्थानान्तरण गर्नुपर्ने, बाढिको पूर्व चेतावनी प्रणाली स्थापना गर्नुपर्ने, विकास निर्माण गर्दा विपद जोखिम मूल्यांकन गरेर मात्रै गर्नुपर्ने, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, विपदका घटनाको तत्काल उद्दारका लागि सुरक्षाकर्मी पुग्न समय लाग्न सक्ने हुँदा स्थानीयस्तरमा नै विपद प्रतिकार्य दलहरु गठन गरी आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने लगायतका आवश्यकता रहेको प्रजिअ गैरेले बताए।



लाेकपाटी न्यूज
