पूर्वराष्ट्रपति यादवकी छाेरी अनिताकाे बिहे ताेकियाे

ram_baran_yadav-with-daughter-anita
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ। यादवको विवाह यही वैशाख २३ गते हुने भएको हो।

उनको विवाह रौतहट निवास ईञ्जिनियर रमेश यादवसँग हुने भएको छ। पूर्वराष्ट्रपति यादवको छोरीको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने बताइएको छ ।

सरल जीवन जिउन चाहने अनिता ठूला–ठूला रेस्टुराँ, क्याफे छिर्न रुचाउँदिनन् । काठमाडौंमा हुँदा साइकल चढ्न मन पराउने अनिता जन्मथलो जनकपुर पुग्दा रिक्सा चढ्छिन् । क्याजुअल पहिरनमा हिँड्ने यादव मम भनेपछि हुरुक्कै हुन्छिन् ।

उनलाई जनकपुरको स्थानीय परिकार छोलामुरी पनि असाध्यै मन पर्छ। ‘त्यहाँ पुग्यो कि तलतल लाग्छ ।’ अनिता भन्छिन्, ‘एक प्लेटले पुग्दैन । दुई प्लेट अर्डर गर्छु ।’ नियमित खानपानमा भने उनी निकै सचेत छिन् । मन पर्दैमा धेरै खाने उनको बानी छैन । बढी खायो भने एकातिर मोटोपन बढ्ने र इन्द्रियहरूमाथि नियन्त्रण गर्न नसकिने उनको बझाइ छ।

बेलायतबाट स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी अनिता योग शिक्षक पनि हुन् । केमेन्डिस् कलेजबाट फेसन डिजाइनिङमा स्नातक तथा युनिभर्सिटी अफ सरेबाट हेल्थ एन्ड पोलिसीमा स्नातकोत्तर गरेकी यादवले ८ वर्ष बेलायतमा बिताइन् ।

बीपी ग्रामीण सेवा केन्द्रकी अध्यक्ष अनिता सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । अनुज योग नामक संस्था खोलेकी अनितालाई योग सिकाउन मन पर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्