हाम्रा छाेरा-नाति भारतीय हाेलान् भन्ने चिन्ताले निद्रा लाग्दैन

Chitra Bahadur KC
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीका छोरा–नाति भारतीय होलान् भन्ने चिन्ताले निन्द्रा लाग्न छाडेको बताएका छन्।

लामो समयदेखि संघीयताको विपक्षमा वकालत गर्दै आएका केसीले पछिल्लो समय विदेशीहरुलाई वंशजका आधारमा नेपाली नागरिकता दिन लागिएको भन्दै यस्तो बताएका हुन्। उनले भने, हाम्रा छोरा नाति भोलिका दिनमा भारतीय होलान् भन्ने चिन्ताले निँद्रा लाग्न छाडेको छ।

संसदमा पुगेको नागरिकता विधेयकविरूद्ध लगातार संघर्षका कार्यक्रम चलाइरहेका केसीले उक्त विधेयक खारेज गर्नुको विकल्प नभएको बताएका छन्। उनले भने, यो विधेयक खारेज नभए मुलूक फिजी र सिक्किम बन्छ । त्यसका लागि देशभक्त सबै नागरिक मिलेर सरकारलाई दबाब दिनुपर्ने भएको छ।

नागरिकता देशसित व्यक्तिको सम्बन्ध निर्धारण गर्ने कुरा वा त्यो देशमा व्यक्तिले पाउने सदस्यता हो भन्दै केसीले अहिलेको नागरिकता विधेयक नेपाली जनताको विरुद्धमा रहेको उल्लेख गरेका छन्। उनले जहाँको भूगोल सानो छ, त्यहाँ नागरिकताको बारेमा सतर्कता अपनाइएन भने त्यहाँ विदेशी नागरिकहरुको अतिक्रमणबाट वास्तविक मूल वासिन्दा अल्पमतमा पर्ने र आगन्तुकहरुको चाहिँ बहुमत हुने र मुलुक सिक्किम वा फिजी बन्ने खतरा बढेर जाने भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपालमा नागरिकता सम्बन्धि थुप्रै कुराहरु जटील रहेको उनको भनाइ छ ।

यसैबीच उनले अहिलेको सरकारमा विचौलिया र तस्करहरु रहेको पनि बताएका छन् । जसले गर्दा यहाँको अर्थतन्त्र, किसानको कृषि व्यवसाय ध्वस्त भएको र कृषि, उद्योग व्यापारमा भारतीयहरुको एकाधिकार बढेको उनको भनाइ छ । उनले जनसाङ्ख्यिक आक्रमणले गर्दा तराईमा भारतीयहरुले ठूलो संख्यामा आफ्ना नागरिकहरु राखेर वैधानिक किसिमले नै संसद कब्जा गर्ने योजना र परिस्थति बनाइरहेको बताउँदै त्यसप्रति सचेत रहन सरकारलाई आग्रह समेत गरेका छन्।