नेपाली सेना : रिटायर्ड अधिकृतका लागि नयाँ कानून, कानूनमा के छ ?

purnachandra-thapa
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचारसंहिता ०७६ जारी गर्दै कडाइपूर्वक लागू गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

उनकै चाहनाअनुसार सेनाले ८ देखि १३ वैशाखसम्म आचारसंहिता सप्ताह पनि मनाएको छ। आचारसंहितामा सामाजिक सञ्जालको प्रयोग, मदिरा सेवन, लैंगिक संवेदनशीलतादेखि आर्थिक पारदर्शितामा ध्यान दिन निर्देशन दिइएको छ ।

प्रधानसेनापति थापाले शान्तिसेनामा सैनिक उच्च अधिकारीको सिफारिसमा पठाउने मिल्ने कोटा हटाएका छन्।
अब ज्येष्ठताका आधारमा मात्र सैनिकले शान्ति सेनामा भाग लिन पाउनेछन्। ‘हाम्रा प्रचलित आचारसंहितामा थपघट गरेर प्रधानसेनापतिज्यूको मार्गनिर्देशन तथा यसबीचमा बनेका नियमपद्धति समेटेर आचारसंहिता ग्रन्थ तयार गरेका छौँ।

यो ग्रन्थ सबैलाई वितरण गरेर कार्यान्वयन प्रारम्भ भइसकेको छ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने, ‘बहालवालालाई मात्र होइन, आचारसंहिता भूतपूर्व सैनिकको सबै तहमा लागू भएको छ।’ उनले हरेक नीति निर्माणअघि सेनाको तलदेखि माथिल्लो तहसम्म सुझाब लिने व्यवस्था गरिएको पनि बताए। उनका अनुसार बजेट पारदर्शी बनाउन सेनाले बजेट आचारसंहिता ०७६ लागू गरेको छ। बजेटसम्बन्धी आन्तरिक निर्देशिका पनि जारी भएको छ। ‘

पुराना बेरुजु फस्र्योट गर्न र बेरुजु हुन नदिन उच्चस्तरीय समिति गठन भएको छ र समितिले काम थालेको छ’ सैनिक प्रवक्ता पाण्डेले भने। प्रधानसेनापतिले आचारसंहिता भूतपूर्व सैनिक जवानदेखि पूर्वप्रधानसेनापतिलाई समेत लागू गर्न मातहतमा निर्देशन दिएका छन्। राष्ट्रिय सुरक्षा, नेपाली सेनाको छविमा आँच आउन नदिन र सेवामा रहँदा प्राप्त भएका गोप्य सूचना सार्वजनिक गर्न नदिन उनीहरूलाई पनि आचारसंहिता लागू गरिएको सेनाले जनाएको छ।

पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल, छत्रमानसिंह गुरुङ तथा पूर्वरथी विवेक शाहले लेखेको संस्मरणपछि रक्षामन्त्रालयको निर्देशनमा सेनाले संस्मरण तथा विगतका सूचना सार्वजनिक गर्ने गरी किताब लेख्न रोक लगाएको छ। ‘अवकाशप्राप्त सैनिकलाई सेवा छाडेको ६ महिनाभित्र सैनिक ऐन लागू हुने कानुनी व्यवस्था छ, तर उनीहरूलाई आवश्यक परेका वेला हाजिर हुने वचनबद्धतामा सहीछाप गराइएको हुन्छ,’ प्रवक्ता पाण्डेले भने ।

तीन वर्षअघि २ जेठ ०७३ मा निर्देशन समितिले भुपूलाई संवेदनशील विषयमा किताब लेख्न रोक लगाउने निर्णय गरेको थियो। आचारसंहिता उल्लंघन गरे पूर्वअधिकारीमाथि पनि कारबाही गर्ने आदेशअनुसार एक महिनाअघि जंगी अड्डाले पूर्वसहायकरथीद्वय डा. प्रेमसिंह बस्न्यात र धर्म बानियाँलाई राजनीतिक अभिव्यक्ति नदिन सचेत गराएको थियो। (आजको नयांपत्रिका दैनिकबाट)।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्