टोक्यो, १७ वैशाख। जापानका सम्राट अकिहितोले मंगलबार गद्धी त्याग्ने भएका छन्। दुई सय वर्ष भन्दा बढीको समयमा जापानमा सम्राटले गद्धी त्याग्न लागेको यो पहिलो पटक हो।
आज यस सम्बन्धमा राजदरबारभित्र विभिन्न औपचारिक कार्यक्रम गरिने बताइएको छ। ८५ वर्षिय सम्राटलाई बुढ्यौली र स्वास्थ्य अवस्थाका कारण कार्यभार ग्रहण गर्न नसकिने अवस्थामा पदबाट हट्नका लागि कानुनी रुपमा अनुमति छ। उनका छोरा युवराज नारुहितोले गद्धी लिनेछन्।
जापानका सम्राटलाई राजनीतिक अधिकार छैन। तर, उनी राष्ट्रिय प्रतीकको रुपमा चिनिन्छन्। विभिन्न परम्परागत कार्यक्रम सकिएपछि सम्राटले आफूले छोडेको जनाउन अन्तिम सम्बोधन गर्नेछन्।
अकिहितो सन् १८१७ पछि यसरी स्वेच्छाले गद्धी त्याग्ने पहिलो जापानी सम्राट हुन्। उनले सन् २०१६मा गद्धी त्याग्ने विषयमा घोषणा गरेका थिए। उनले त्यसबेलामा आफ्नो स्वास्थ्यलाई नै कारण बताएका थिए।
उनले छोडेपछि नारुहितोले १२६ औं सम्राटको रुपमा कार्यभार सम्हाल्नेछन्। ५९ वर्षिय नारुहितोले अक्सफोर्डमा अध्ययन गरेका हुन् । उनी २८ वर्षको उमेरमा युवराज भएका थिए।



लाेकपाटी न्यूज

