काठमाडौं, १६ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएको बताएका छन् ।
सरकारले विदेशी लगानी आकर्षित गर्न खोजेको भने पनि नीति तथा कार्यक्रमको प्रस्टता बिना विदेशी लगानी आकर्षित गर्न असम्भव रहेको उनले बताए।
सोमबारदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशनअन्तर्गतको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले नीति तथा कार्यक्रम स्पष्ट नभए सरकारले अघि सारेको समृद्धिको यात्रा पनि साँचो अर्थमा अगाडि बड्न नसक्ने बताए । बालुवाटारको सरकारी जग्गा भूमाफियाले कब्जा गरेको विषय सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न उद्धत रहेको देउवाको आरोप छ ।
‘भ्रष्टाचारका घटनाले नागरिकहरु दिनानुदिन निराश हुँदै गएका छन् । राष्ट्रपतिले समेत भ्रष्टाचार संस्थागत हुँदै गएको भन्नुभएको छ,’ देउवाले भने, बालुवाटारको सरकारी जग्गासमेत भूमाफियाको कब्जामा गएको सार्वजनिक हुँदा सरकार भने ढाकछोप गर्नतिर लागेको छ ।’ आम जनताले गफ र नारामा मात्र सरकार लागिरहेको ठम्याएको देउवाको भनाइ थियो ।
सरकार संघीयता, लोकतन्त्र, गणतन्त्रजस्ता परिवर्तनका संरचना भत्काउन लागिपरेको उल्लेख गर्दै देउवाले भने, ‘यस्तो गर्न खोजिए प्रमूख प्रतिपक्षीको रुपमा कांग्रेसले सशक्त प्रतिकार गर्छ ।’ सरकार ‘कुहिरोमा हराएको काग’को नियतिमा रहेको भन्दै देउवाले त्यसबाट बाहिर आउन पनि आग्रह गरे ।
प्रधानमन्त्रीले सबै निकायका अधिकार प्रधानमन्त्री कार्यालयमा सीमित राखेर आफ्नै मन्त्रीलाई समेत विश्वास गर्न नसकेको देउवाको भनाइ थियो । उनले सरकार बनेको १४ महिनामा पनि जनतालाई देखाउन लायक एउटा पनि काम नभएको जीकिर गरे ।



लाेकपाटी न्यूज

