काठमाडौं, १६ वैशाख। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बिहानदेखि बसेको सचिवालय बैठक संगठनात्मक विषयमै प्रवेश नगरी टुंगिएको छ।
पार्टी एकताका बाँकी काम टुंग्याउने भनिए पनि बैठक संगठनात्मक विषयमा प्रवेश नै नगरी टुंगिएको हो। बिहान ९ बजेदेखि सुरु बैठकमा सरकारले पेश गर्ने नीति तथा कार्यक्रमको विषयमा मात्रै छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
‘संगठनात्मक विषयमा छलफल भएन’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रमबारे सुझाव माग्नुभयो। बैठक त्यसैमा केन्द्रित भयो।’ बैठकमा सहभागी नेताहरुले सरकारको कामकारबाही र सरकारले पेश गर्ने नीति तथा कार्यक्रमबारे बोलेको श्रेष्ठले जनाएका छन्।
संगठनात्मक विषयमा अर्को बैठकमा छलफल हुने श्रेष्ठले बताए। लामो समयदेखि अलमलमा परेको पार्टी संगठनात्मक जिम्मेवारी बाँडफाँडको विषय भने अलमलमा परेको छ। सोमबारको बैठक संगठनात्मक विषयमै प्रवेश नगरी टुंगिएपछि एकता प्रक्रियाको बाँकी काम अलमलमा परेको हो।
पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दासमेत पोलिटब्युरो गठन, जनवर्गीय संगठनको एकीकरण लगायतका कामहरु पूरा हुन सकेको छैन। जिम्मेवारी बाँडफाँड हुन नसक्दा नेताहरु कामबिहीन बनेका छन्।



लाेकपाटी न्यूज

