सिडिओलाई प्रदेशको अधिनमा राख्नुपर्छ : राजेन्द्र श्रेष्ठ

Rajendra shrestha
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख। संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीयता प्रशासनिक संघीयता मात्र भएको बताएका छन्।

शनिबार सहअध्यक्ष श्रेष्ठले उक्त कुरा काठमाडौंको नाजार्गुन नगरपालिकाको प्रथम नगर अधिवेशनको उदघाटन गर्दै संघीयतामा प्रदेशको मुख्यमन्त्रीको मातहत रहनुपर्ने सिडियोलाई केन्द्रको मातहत राख्नु तथा प्रदेशहरूलाई कमजोर बनाउन खोज्नु संघीयतालाई असफल पार्ने प्रपञ्च भएको बताए।

सहअध्यक्ष श्रेष्ठले नेपालमा समाजवादको वकालत गर्ने काङ्ग्रेसले वैयक्तिक स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्न नसकेको र साम्यवादको वकालत गर्ने कम्युनिष्ट पार्टीहरू जनताको समृद्धिमा भन्दा आफ्नो व्यक्तिगत समृद्धितर्फ लागेको बताए।

उनले कम्युनिष्ट पार्टीहरू सत्तारुढ भएको बेला बालुवाटारको जग्गा तथा खुल्लामञ्चको व्यापार प्रकरण लज्जास्पद भएको बताए। उनले कार्यकर्तालाई अहिलेदेखि नै जनताको समस्या बुझ्न घरदैलोमा जानुपर्ने बताउँदै नगार्जुनको प्रत्येक वडामा ससफोको संगठन बिस्तार गर्न पनि आग्रह गरे।

सहअध्यक्ष श्रेष्ठले अधिवेशनबाट संघीय फोरमको नेतृत्व लिन आफू तयार रहेको बताएका छन्। उनले विकास निर्माणमा राज्य र निर्वाचित जनप्रतिनिधिहरूले पक्षपात गरेको बताउँदै जनताले चाहेमा विकास र समृद्धिका लागि आफूले पुनः नेतृत्व लिन चाहेको बताए।