नीति तथा कार्यक्रम निर्माणमा नेकपाले दियो यस्तो सुझाब

Nekapa Team
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो ।

सरकारले आगामी २० गते संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्दैछ। कार्यक्रम संसदमा पेश गर्नुअगाडि पार्टी सचिवालय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल भएको हो । छलफलका क्रममा सचिवालय सदस्यहरुले नीति तथा कार्यक्रममा मुलूकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने विषय समेटिनुपर्नेमा जोड दिएका थिए ।

संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख समृद्धि, निर्वाचनका बेला पार्टीले जारी गरेको घोषणा पत्र र सरकारले हालसम्म गरेका सकारात्मक काम तथा प्राप्त उपलब्धीको रक्षा गर्ने गरी आगामी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा नेताहरुले जोड दिएका थिए।