धनुषा, १५ वैशाख । आइतबार बिहान आएको भीषण हावाहुरीले धनुषामा वितण्डा मच्चाएको छ । हावाहुरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामिण भेगमा बालिनालीलाई समेत क्षति र्पुयाएको छ ।
हावाहुरीले एक सयभन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत ५० वटा बिजुलीको पोलसहित ३ वटा ट्रान्सफर्मरसमेत हावाहुरीले ढालेको प्राधिकरण प्रमूख सूर्यनारायण मण्डलले बताए।
यस्तै वितरण केन्द्र सखुवा महेन्द्रनगर अन्तर्गत ३५ भन्दा बढी पोल ढालेको प्रमूख राजकुमार रमणले जानकारी दिए। यस्तै धनुषाको पूर्वी क्षेत्र युदुकोहा वितरण केन्द्र अन्तर्गत २५ भन्दा बढी बिजुलीको पोल हावाहुरीले ढालेको छ । यदुकोहा वितरण केन्द्रका अनुसार मुजेलियाबाट जडान भएको ३३ केभी विद्युत प्रशारण लाइनमाथि तीनवटा रुख ढलेको छ ।
हावाहुरीले धेरै ठाउँहरुमा घर टहराहरु छिटफुट रुपमा भत्काए पनि पूर्ण विवरण आइनसकेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।



लाेकपाटी न्यूज
