काठमाडौँ। नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिलेको स्थानमा रहनुमा प्रेसको महत्वपूर्ण भूमिका भएको बताएका छन्।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रेसले विगत जनयुद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पुर्याउने काममा सकारात्मक सहयोग गरेकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै गणतन्त्र र संविधान निर्माणसम्म आइपुगेको बताएका हुन्।
‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउदा तपाईहरुले साथ दिनुभयो। पत्रकार महासङ्घले शुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो। पत्रकार महासंघको पदाधिकारीसँग लगातार हुने गरेका अन्तरक्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो’ प्रचण्डले भने।
नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ वुँदे ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले उठाएका मुद्दाहरु जनतासम्म पुर्याउने कुरामा पत्रकार महासङ्घले संस्थागत र समग्र प्रेसले सकारात्मक भूमिका खेलेको नभए म यहाँ हुने थिइनँ। यस अर्थमा म अहिले जहाँ छु, त्यसमा पत्रकार र प्रेसको महत्वपूर्ण भूमिका छ।’
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्ध रहेको पनि प्रचण्डले बताए। संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित नहुने भन्दै प्रचण्डले प्रेस स्वतन्त्रा कुण्ठित नहुने गरी कानून निर्माणमा आफनो भूमिका रहने बताएका छन्।
उनले अहिले सरकारमा जेलनेल भोगेका र सबै हण्डर ठक्कर खाएकाहरुकै सरकार भएकाले प्रेसको पक्षमा सरकार सकारात्मक रहने पनि बताए। ‘अहिले बलियो सरकार बनेको छ। जेलनेल सबै भोगेकाहरुकै सरकार छ’ पदाधिकारी टोलीसँग प्रचण्डले भने।
संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अब कानून बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने बताए। ‘पत्रकार महासंघको तर्फबाट तपाईहरुले उठाउनुभएको कुरा जायज छ’ प्रचण्डले भने।
उनले थपे, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ। प्रधानमन्त्रीलाई भेट्नुभयो भने झन राम्रो। म पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँछु। तपाईहरुका कुरा सरकारसमक्ष पुर्याउने र सम्भव हुने जति काम गर्न म पनि पहलकदमी लिन्छु।’
पत्रकार जीतेन्द्र महर्जनको रिहाई, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नीति, कानून निर्माणमा प्रेसमैत्री हुनुपर्ने लगायतका १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउन महासङ्घ टोली आज बिहानै अध्यक्ष निवास खुमलटार पुगेका थिए।



लाेकपाटी न्यूज

